काठमाण्डौ । नेकपा एमालेले केन्द्रिय सदस्यहरुको संख्या र नाम अपडेट गरेको छ । नयाँ विवरण निर्वाचन आयोगमा पठाइएको छ ।
निर्वाचन आयोगका एक अधिकारीले दिएको जानकारीअनुसार यसअघि २ सय ३ सदस्यीय केन्द्रीय सदस्यको संख्या अब २ सय ६० पुर्याएर नयाँ अपडेट गरिएको हो ।
आयोगका सचिव सुरेश अधिकारीका अनुसार नयाँ नामसहित केन्द्रीय पदाधिकारीको विवरण अपडेट गरिदिन अनुरोध गर्दै एमालेले आयोगलाई पत्र पठाएको हो । यसका लागि नेकपा एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितका नेताहरु आयोग पुगेका थिए ।
एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २ सय ६५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको थियो । एमालेको यो निर्णयलाई सर्वोच्च अदालतले पनि मान्यता दिएको छ ।
एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या अपडेट गरेसँगै अब एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल गठन गर्न चाहेका उनीसँग ५२ जना केन्द्रीय सदस्य हुनु पर्ने हुन्छ ।
आजैमात्र सरकारले नयाँ अध्यादेश ल्याएर केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत सदस्य भए नयाँ दल दर्ता गर्न सकिने प्रावधान बनाएको छ ।
प्रतिक्रिया