ताजा समाचार


प्रदेश २ सरकार : दुई करोडको योजना बाँडफाँडलाई लिएर दुई काँग्रेसी मन्त्रीबिच विवाद

द रियल समाचार     २०७८ भाद्र १, मंगलवार, १५: ०४ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ मा नेपाली काँग्रेसका दुई मन्त्रीबिच योजना बाँडफाँडका कारण विवाद सुरु भएको छ् ।

भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र खानेपानी तथा उर्जाविकास मन्त्री ओमप्रकाश शर्माबिच विवाद सुरु भएको हो ।

बजेट बाँडफाँड तथा मन्त्रालयका विभिन्न योजनाहरुको आधिकारिकताको विषयलाई लिएर दुबैजना बिच विवाद भएको छ । दुबैजनाको विवाद उच्च अदालत जनकपुरमा पुगेको बताइएको छ ।

दुबै मन्त्रीबीच सिंचाइ सम्बन्धी दुई अर्ब रुपैयाँको विकासे योजनाको बिषयलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेपछि श्यामलाल पासवानले प्रदेश सरकारलाई विपक्षि बनाई उत्प्रेसन मिश्रित परमादेशको माग गर्दै उच्च अदालत जनकपुरमा निवेदन दिएका छन् ।

निवेदक पासवानको तर्फबाट अधिवक्ता चन्द्रकुमार शर्मा मैनाली र प्रकाशकुमार घिमिरेको बहस पछि उच्च अदालतका कामु मुख्य न्यायाधिश बिनोद शर्माको ईजलासले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई भदौ ७ गते छलफलका लागि बोलाएको छ ।

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७८ अनुसार प्रदेश भित्रका सिचाइँ सम्बन्धी सम्पूर्ण योजनाको कार्यान्वयन गर्ने जिम्मेवारी खानेपानी तथा उर्जा मन्त्रालयको मातहतमा रहेको उल्लेख छ । तर, सो योजना भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत नै रहेको कांग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री रामसरोज यादवले जबरजस्ती चलाउन खोजेपछि दुबै मन्त्रालयबिच विवाद सुरु भएको हो ।

आफ्नोमातहत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन र भूमिगत सिँचाइका कार्यालय भौतिक पूर्वाधार विकास मन्त्रालयले सञ्चालन गरिरहेको भन्दै खानेपानी तथा ऊर्जा विकास मन्त्रालयले विरोध जनाएको छ । मन्त्री शर्माले सो कार्यालय आफूअन्तर्गत हुनुपर्ने दाबी गर्दै पत्राचार गरेका छन् । उनले गत साउन २५ गते मातहतका कार्यालयालाई पत्र पठाई आफ्नो निर्देशनअनुसार कामकारबाही अघि बढाउन भनेका हुन् ।

दुबै मन्त्रालयले आफु मातहत रहेको दाबी गर्दै जलस्रोत तथा सिचाई डिभिजन कार्यालय र भुमिगत जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयलाई पत्राचार गरेपछि कर्मचारीहरुमा समेत अन्यौलता बढेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सत्ता टिकाउनका लागि २०७८ जेठ २६ गते नेपाली कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top