ताजा समाचार


राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी

द रियल समाचार     २०७८ श्रावण ३२, सोमबार, १८: ०० मा प्रकाशित




काठमाण्डौ । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि गठबन्धनका शीर्ष नेताहरूबीच सहमति समेत भइसकेको बताइएको छ ।

नेकपा एमालेको विभाजनबिना सरकार विस्तारमा समस्या भएको निष्कर्षसहित अध्यादेशको तयारी गरिएको हो । सत्तारुढ गठबन्धनमा सहभागी नेकपा एमालेको माधव नेपाल पक्षलाई सहज हुनेगरी अध्यादेश ल्याउन लागिएको हो ।

अध्यादेश ल्याउने वातावरण बनाउन सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ । हालको राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ । दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाएर अध्यादेश ल्याउन लागिएको हो ।

अध्यादेशमार्फत केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुर्याए विभाजन गर्न सकिने प्रावधान ल्याउन लागिएको बालुवाटारनिकट स्रोतले बताएको छ ।

झण्डै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर सोही प्रकृतिको अध्यादेश ल्याएको थियो । चौतर्फी विरोधपछि सरकारले सो अध्यादेश फिर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top