ताजा समाचार


को हुन प्रदेश २ को चौथो प्रदेश प्रमुख बनेका हरिशंकर मिश्र ?

द रियल समाचार     २०७८ श्रावण ३२, सोमबार, १७: ५० मा प्रकाशित




जनकपुरधाम । सरकारले प्रदेश २ को चौथो प्रदेश प्रमुखको रुपमा नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व सांसद हरिशंकर मिश्रलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख राजेश झा अहिराजलाई प्रदेश प्रमुखबाट हटाएर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

विगत ४ वर्षको अवधिमा यस प्रदेशमा पहिलो प्रदेश प्रमुखको रुपमा रत्नेश्वरलाल कायस्थ, दोस्रोमा तिलक परियार र तेस्रोमा राजेश झा अहिराजलाई नियुक्त गरिएको थियो । यस्तै चौथो प्रदेश प्रमुखको रुपमा हरिशंकर मिश्र आउन लागेका हुन् ।

पहिलो पटक रत्नेश्वरलाल कायस्थ तत्कालिन समाजवादी पार्टीको कोटाबाट प्रदेश प्रमुख बनेका थिए । कायस्थ २०७४ साल माघ ३ गतेदेखि २०७६ साल कार्तिक १८ गतेसम्म प्रदेश प्रमुखको रुपमा काम गरेका थिए । उनी पश्चात दोस्रो प्रदेश प्रमुखको रुपमा तिलक परियार तत्कालिन नेकपाको प्रचण्ड समुहको कोटाबाट प्रदेश प्रमुख बनेका थिए । परियार २०७६ साल कार्तिक १८ गतेदेखि २०७७ साल फागुन ७ गतेसम्म जिम्मेबारी सम्हाले ।

तत्कालिन नेकपा पार्टी भित्र आन्तरिक विवाद भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी निकट तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर राजेश झालाई गत वर्ष फागुन ७ गते नियुक्त गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिसकेको छ ।

को हुन प्रदेश प्रमुख मिश्र ?

नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको जन्म वि.सं. २००२ सालमा महोत्तरीको पिपरा गाउँमा भएको थियो ।

५९ वर्षदेखि राजनीतिमा सक्रिय मिश्र विपी कोइरालाका समकक्षी कांग्रेसी नेता रामनारायण मिश्रका छोरा हुन् । विपीले वि.सं. २०१६ सालमा नेतृत्व गरेको सरकारमा रामनारायण मिश्र उद्योगमन्त्री थिए । राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि रामनारायणलाई समेत विपीसँगै सुन्दरीजल कारागारमा राखेर बन्दी बनाइएको थियो ।

बुवा जेलमा परेपछि वि.सं. २०१९ सालबाट हरिशंकर मिश्र राजनीतिमा सक्रिय भएका थिए । २०१९ सालमा बुवा जेलमा परेपछि प्रजातान्त्रिक आन्दोलनको झण्डा फहराउनकै लागि आफूले आन्दोलनको झण्डा बोकेको उनले बताए । उनले भने,‘बुवा जेलमा परेपछि आन्दोलन शिथिल हुने र पिपरा गाउँकै नाम डुब्ने डरले बुवाको पथमा अगाडी बढेको थिएँ ।’

रामनारायण मिश्र पक्राउ परेका बेला हरिशंकर मिश्रले नै सो वर्ष प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनको झण्डा फहराएका थिए । त्यसबेला उनी कक्षा ९ मा अध्ययनरत थिए । प्रजातन्त्र दिवसको अवसरमा झण्डा फहराएको भन्दै मिश्रलाई समेत पक्राउ गरेर जलेश्वर कारागारमा राखिएको थियो । उनी साढे दुई महिना जेलमा बसे । पछि नाबालकलाई कारावासमा राखिएको आलोचना भएपछि उनलाई छाडिएको थियो । त्यसपछि अनवरत रुपमा उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहे ।

देशमा प्रजातन्त्रको पुर्नवहाली पछि वि. सं. २०४८ सालमा मिश्र महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचन लडे । उनी विजयी पनि भए । तर त्यसपछि दुई पटक नेपाली काँग्रेसले सोही क्षेत्रबाट उनलाई चुनाव लड्नका लागि अवसर दियो तर उनी असफल सावित भए । २०५१ सालको निर्वाचनमा उनी पराजित भएका थिए ।

प्रदेश प्रमुख बनेका ७६ वर्षीय मिश्रले आफूमाथि पार्टी र गठबन्धनको सरकारले विश्वास गरेर नियुक्त गरेकोमा बधाई दिएका छन् । उनले प्रदेश सरकार र जनतासँग छलफल गरेर मात्रै आफ्नो योजनाको विषयमा खाका तयार पार्ने बताएका छन् ।

यता, निवर्तमान प्रदेश प्रमुख राजेश झा अहिराजले नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई सफल कार्यकालको शुभकामना दिएका छन् । आफूलाई प्रदेश प्रमुखको रुपमा काम गर्ने अवसर दिएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै उनले आफ्नो कार्यकाल अवधिभर नागरिकसँग बस्ने मौका पाएकोमा प्रदेशका हरेक नागरिकप्रति समेत आभार व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top