ताजा समाचार


जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा निस्केपछि बलवा नगरपालिकाको कामकाज ठप्प

द रियल समाचार     २०७८ श्रावण ३२, सोमबार, १७: २५ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीको एक स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरु देशव्यापी भ्रमणमा निस्केपछि नगरपालिकाको कामकाज नै ठप्प भएको छ् ।

जिल्लाको बलवा नगरपालिकाका नगर प्रमुख विनोद कुमार यादवलगायत कार्यालयका ६० जना कर्मचारी विगत ५ दिनदेखि सरकारी खर्चमै भ्रमणमा निस्केपछि कामकाज प्रभावित भएको हो ।

बलवा नगरपालिकाको ११ वडा मध्ये ८ वडाका वडाध्यक्ष, कार्यकारी सदस्य, नगरप्रमुख विनोद यादव, उपप्रमुख रिता देवी झा, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, ईन्जिनियर कार्तिकेश झा, लेखा अधिकृत सत्रुधन ठाकुरसहित ६० जना कर्मचारीहरु देशव्यापी भ्रमणमा निस्केका हुन् ।

जनप्रतिनिधिहरु नै जनताको समस्यालाई बेवास्ता गर्दे भ्रमणमा गएपछि स्थानीयवासीहरु रनभुल्लमा परेको स्थानीय अशोक कुमार यादवले बताए । उनले भने,‘वर्षातको समयमा गाउँ घर डुबानमा परिरहेको बेला यसरी जनप्रतिनिधिदेखि कर्मचारीहरु करिब एक साता देखि सरकारी खर्चमै भ्रमणमा जानु असोभनीय छ ।’

महोत्तरीस्थित रातु नदीको किनारामा रहेको बलवा नगरपालिका क्षेत्रको अधिकांश भाग डुबान र कटान भईरहेको बेला जनप्रतिनिधिहरु भने आफ्नो जिम्मेवारीलाई बिर्सदैं पोखरा, बागलुंग, चितवन, सौराहा, रामपुर लगायतका स्थानको भ्रमणमा छन् । स्थानीय तहका जिम्मेवार पदाधिकारीहरु समेत भ्रमणमा हुँदा नगरपालिकाको सम्पूर्ण कामकाज नै ठप्प छ भने सेवाग्राहीहरुको समस्या दिनदिनै बढ्दै गईरहेको यादवले बताए ।

यता नगर प्रमुख विनोद कुमार यादवले निर्वाचित भएको करिब ४ वर्षदेखि आफुहरु कतै पनि भ्रमणमा नगएको र यसपालि मौका मिलाएर भ्रमणमा निस्केको बताए । आर्थिक मसान्त समाप्त भएपछि नयाँ आर्थिक वर्षको शुरुवातासँगै बलवा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु भ्रमणमा निस्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top