ताजा समाचार


भौतिक रुपमा जनकपुरधामका विद्यालय तहको पठनपाठन सञ्चालन गर्नुपर्ने माग

द रियल समाचार     २०७८ श्रावण ३०, शनिबार, १५: ४२ मा प्रकाशित




जनकपुरधाम। शिक्षा क्षेत्रका सरोकारवालाहरुले जनकपुरधामका विद्यालय तहको पठनपाठन सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

कोरोना संक्रमणका कारण नेपाल सरकारले विगत लामो समयसम्म गरेको बन्दाबन्दीका कारण विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको भन्दै उनीहरुले अब भौतिक रुपमा पठनपाठन सञ्चालनमा ल्याइनुपर्ने माग गरेका हुन् ।

बन्दाबन्दीको करिव दुई वर्ष पूरा हुनलाग्दा पनि शैक्षिक संस्था खुलाउन स्थानीय तहले कुनै कार्यक्रम ल्याउन नसक्दा अन्यौलको अवस्था आएको जनकपुरधामस्थित जानकी विद्या मन्दिरका सञ्चालक समेत रहेका एनप्याबसन धनुषाका निवर्तमान सचिव डि.के चौधरीले बताए ।

स्थानीय सरकारको नेतृत्वमा सुरक्षित तरिकाले विद्यालय खोल्नुपर्ने, यसमा प्रदेश र केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।कोरोना संक्रमितको संख्या घटिरहेको अवस्थामा स्वास्थ्य सुरक्षा सतर्कताको उपाय अवलम्बन गरेर विद्यालय खोल्नुपर्ने उनको माग छ ।सरकारी निर्णयको अवज्ञा गर्दै कतिपय शैक्षिक संस्थाहरु सञ्चालनमा रहेकोले सबैका लागि समान नियम कानुन लागू हुनुपर्ने माग समेत उनले राखेका छन् ।

उनले प्रदेश २ कै ठुलो सहरको रुपमा वीरगञ्ज रहेको र त्यहाँको जनघनत्व समेत जनकपुर भन्दा बढि नै रहेको अवस्थामा त्यहाँका विद्यालयहरु भौतिक रुपमा खोलिएपनि जनकपुरधामका विद्यालयहरु सञ्चालन गर्ने निर्णय अझै हुन नसक्नु दुःखद रहेको बताए । उनले जनकपुरधामको शिक्षा धरापमा परिरहेकोप्रति दुःख समेत व्यक्त गरेका छन् । शेसन पनि चैत बैशाखमै समाप्त गर्नुपर्ने भएकोले झन समस्या थपिएको चौधरीको दुःखेसो छ ।

विद्यालय नखोलेरै भएपनि अध्यापन गराउनुछ भने त्यसको पनि कुनै विकल्प खोज्नुपर्छ,उनले भने,आफूहरुको रोजगारी बन्द रहेको अवस्थामा विद्यालय खोल्नु नै पर्छ भन्ने हाम्रो माग होईन । तर, बालबालिकाको भविष्य ओझेलमा परिरहेको छ । यो एकदम दुःखद पक्ष छ ।’

स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न उदासिनता देखाएको एजप्याबसन धनुषाका नगरअध्यक्ष दिपक ठाकुरको गुनासो छ । उनले जनकपुरधाम उपमहानगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

निषेधाज्ञा सुरु भएदेखि चैत १० गतेदेखि विद्यार्थीहरु भौतिक रुपमा विद्यालय जान पाएका छैनन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा खुकुलो बनाएर बजार पूर्णरुपमा खोलिसक्दा समेत शैक्षिक संस्थाहरु बन्द राख्ने निर्णय गर्दा जनकपुरका विद्यालयहरु सञ्चालन हुन सकेका छैनन् ।

यस सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले सरकारले विद्यालय खोल्ने निर्णय नगरेसम्म भौतिक उपस्थितिमा खोल्ने अनुमति दिन नसकिने बताए । उनले आफूहरुले अहिलेसम्म विद्यालयहरु खोल्ने कुनै निर्णय नगरेको जानकारी दिए ।

उनले भने,‘कोरोना संक्रमण घटेकाले जनस्तरबाट विद्यालय खोल्न माग आइरहेको तर केन्द्रकै निर्णयबाट विद्यालय बन्द गरिएकाले खोल्नका लागि पनि केन्द्रबाटै समन्वय हुनुपर्छ ।’

उनले तेस्रो लहरको जोखिम पनि रहेकाले विद्यालय खोल्न हतार नगरिएको बताए । माथिबाट कम्तिमा पनि स्थानीय तहको अवस्था हेरेर विद्यालय खोल्ने अनुमति दिनुपर्ने उनको भनाइ छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top