ताजा समाचार


अस्पतालहरुलाई तयारी अवस्थामा रहन गृह मन्त्रालयको आग्रह

द रियल समाचार     २०७८ श्रावण २९, शुक्रबार, १८: २५ मा प्रकाशित




काठमाण्डौ । गृह मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको हो ।

पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको छ ।

सूचीकृत अस्पतालहरुमा संक्रमितहरुको तथ्यांक/विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले भनेको छ । मासिक अद्यावधिक विवरण यकिन गरी सो अनुसार निःशुल्क उपचार भएका संक्रमितहरुको विवरण सम्बन्धित अस्पतालहरुलाई सोधभर्ना गर्ने प्रयोजनको लागि मन्त्रालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top