सिरहा । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका प्रदेश २ स्थित सिरहाका एक पुरुष ८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको नबराजपुर गाउँपालिका–१ बस्ने ४६ वर्षीय नागेन्द्रप्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।
पूर्व वन राज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव समेत रहेका यादवलाई अख्तियारको टोलीले ५० हजार रुपैयाँ घुस लिईरहेको अवस्थामा २०६८ फागुन १७ गते काठमाण्डौबाट पक्राउ गरेको थियो ।
त्यतिबेला यादव ५० हजार धरौटीमा रिह भएका थिए । विशेष अदालतले फेरि २०७० असार ३१ मा यादवले भ्रष्टाचार गरेको प्रमाणित गरेपछि उनी फरार भएका थिए ।
अदालतले यादवलाई १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा झण्डै ८ वर्षपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया