ताजा समाचार


पूजारी साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटीमा रिहा

द रियल समाचार     २०७८ श्रावण २९, शुक्रबार, १६: ५३ मा प्रकाशित




रौतहट । रौतहटस्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटी बुझाएर रिहा भएका छन् ।

जिल्ला अदालत रौतहटले माधवनारायण नगरपालिका–४ खेसरहियास्थित हनुमान मन्दिरका पूजारी साहका हत्या आरोपी वडाध्यक्ष शेख नुरुल्लालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

गत २०७७ भदौ ३ गते पुजारी साहको हत्या भएदेखि फरार रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेखलाई गत शुक्रबार जिल्ला अदालत रौतहटको ७ नम्बर इजलासका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले उनलाई दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

साउन २२ गते शुक्रबार अदालतमा हाजिर भई उनले दुई लाख धरौटी बुझाई रिहा भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पूजारी साहको खाना खाँदै गरेको अवस्थामा देव्रे कञ्चटमा गोली हानी हत्या गरिएको थियो ।

पूजारीको हत्या आरोपमा ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो । जसमध्ये रामनरेश पटेल र बालकुमार पटेललाई सोही समयमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरू अहिले पुर्पक्षका लागि गौर कारागारमा छन् ।

पूजारी हत्यामा संलग्न देवाही गोनाही–१ का राजेन्द्र राउत कुर्मी, रामप्रवेश राउत कुर्मी, विकाउ भन्ने मोहम्मद काशिम र ममताज देवान अझै फरार रहेको एसपी शाहले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top