ताजा समाचार


कोरोना संक्रमणका कारण एकजना स्वास्थ्यकर्मीको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २९, शुक्रबार, १६: ३८ मा प्रकाशित




झापा । झापामा कोरोना संक्रमणका कारण एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय अहेव षडानन्द नेपाल रहेका छन् ।

उनको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल मृत्यु भएको परिवारजनले जनाएका छन् ।

झापा हल्दिबारी गाउँपालिका–१ गोलधाप बस्ने उनी नेपाल औषधि व्यवसायी संघ झापाका सदस्य तथा द नेपाल क्लिनिक एण्ड डाइग्नोसिस सेन्टर गोलधापका सञ्चालकसमेत थिए ।

उनी हल्दिबारी तथा गोलधाप क्षेत्रका लोकप्रिय स्वास्थ्यकर्मी मानिन्थे। उनी ‘नेपाल डाक्टर’ का नामले परिचित पनि थिए । उनको निधनले समाजले कुशल स्वास्थ्यकर्मी गुमाएको सांसद राजेन्द्र लिङ्देनले बताए ।

सांसद लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्ति भर्खरै म दोस्रोपल्ट कोरोना संक्रमित हुँदा स्वास्थ्य सल्लाह र आवश्यक औषधि ल्याइदिने स्वास्थ्यकर्मी, औषधि व्यवसायी, हामी सबैका प्रिय, कठोर मेहनतबाट स्थापित हाम्रा छिमेकी भाइ षडानन्द नेपाल स्वयं कोरोनाका कारण हामीमाझ नरहनु भएको समाचारले स्तब्ध र दुःखी छु । दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

उनको निधनमा नेपाल औषधि व्यवसायी संघको अगुवाइमा बिर्ताबजारदेखि बिर्तामोडसम्मका औषधि पसल बन्द गरिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top