ताजा समाचार


नेपालसँगको रेलसेवा सम्झौता खारेज गर्ने भारतको चेतावनी

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, १९: २५ मा प्रकाशित




काठमाण्डौ । भारतले नेपालसँगको रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।

सम्झौताअनुसार भारतलाई नेपालले २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको हो ।

भारतको कोंकण रेल्वे कर्पोरेसनका प्रमुख मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकलाई पत्र लेखी नेपालले सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।

नेपालले चाँडै रेलसेवा सञ्चालन नगरे सम्झौता रद्द हुने व्योहोराको पत्र पठाइएको हो । सोही पत्र प्राप्त गरेका दिन रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । कोंकण कम्पनीले दुईवर्षअघि नै रेल सेवा सञ्चालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोंकणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो ।

सोहीअनुसार नेपालले उक्त भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा सञ्चालन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भएपनि नेपालले भुक्तानी गर्न नसक्दा कम्पनीले दुःख व्यक्त गरेको छ । रेल भित्रिएको एकवर्षसम्म पनि नेपालले रेल नचलाएपछि कोंकण कम्पनीले रेलसेवा सञ्चालन गर्न ताकेता गरेको हो ।

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव तथा प्रवक्ता केशब कुमार शर्माले कोंकणले पठाएको पत्र मन्त्रालयमा नआएको बताए । उनले मन्त्रालयमा कोंकणबाट अहिलेसम्म कुनै पत्र नआएको बताउँदै पत्र आएपछि के गर्ने भन्ने विषयमा छलफल गर्ने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top