ताजा समाचार


असोज मसान्तसम्ममा थप १ करोड २ लाख डोज खोप प्राप्त हुन्छ : राज्यमन्त्री श्रेष्ठ

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, १७: ५५ मा प्रकाशित




काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख डोज कोरोना खोप प्राप्त हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

संसद बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै राज्यमन्त्री श्रेष्ठले हालसम्म कोभिड १९ विरुद्धको १ करोड ८ लाख ६० हजार १ सय ७० डोज खोप प्राप्त भएको जानकारी दिए । उनले असोज मसान्तसम्म १ करोड २ लाख डोज प्राप्त हुने र माघ मसान्तसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने बताए । त्यस्तै, माघ महिनासम्ममा ५ करोड २३ लाख डोज कोरोना खोप उपलब्ध हुने पनि उनले बताए ।

राज्यमन्त्री श्रेष्ठले भने, ‘हालसम्म प्राप्त भइसकेको १ करोड ८ लाख ६० हजार १ सय ७०, प्रक्रियामा रहेको खोप ३ करोड ३६ लाख ७१ हजार ९ सय ५०, जसमध्ये असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने, माघ मसान्तमा ३ करोड २३ लाख थप प्राप्त हुने, माघसम्म आपूर्ति हुने अनुमानसहित ५ करोड २३ लाख डोज खोप उपलब्ध हुनेछ ।’

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख डोज खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख डोज खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख डोज खोप जनतालाई उपलब्ध गराएको बताए ।

उनले नयाँ सरकारले ७५ लाख डोज खोप लगाएको पनि उल्लेख गरे । वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख डोजसम्म खोप लगाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top