जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत एक युवकको हत्या आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जानकारी दिए । घटनाका मुख्य आरोपी मेयर, उपमेयर र वडाध्यक्षहरूसहित ६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो । सोही झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो । घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का वडाध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए ।
उपमेयर झा, वडा नम्बर ४ का वडाध्यक्ष किशोरी यादव, वडा नम्बर २ का वडाध्यक्ष उदय साहविरुद्ध समेत ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो । मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजुरी दिएका थिए ।
प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ । फरार व्यक्तिहरूको खोजी भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका राउतविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतिक्रिया