ताजा समाचार


प्रदेश सरकारले खरिद गरेका सवारीसाधन प्रदेश प्रहरीलाई हस्तान्तरण

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १९: ०६ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारले खरिद गरेका ९ वटा वारुणयन्त्र प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेश प्रहरीलाई बुधबार ती वारुणयन्त्र हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका अन्य सामग्रीहरुमा ड्रोन क्यामेरा, वारुणयन्त्र, मोबाइल पिकअप भ्यानलगायतका समेत रहेका छन् ।

सरकारले आगलागीबाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न गत जेठ २८ गते ५३ लाख रुपैयाँका दरले ४ करोड ७७ लाख रुपैयाँमा ती वारुणयन्त्रहरु खरिद गरेका थिए ।

वारुणयन्त्रले विपतमा परेकाहरुलाई सहयोग गर्न सहयोग पुग्ने मन्त्री साहले विश्वास व्यक्त गरे । मन्त्री साहले आपतकालिन कार्य सञ्चालन केन्द्र समेत सञ्चालनमा ल्याउने निर्णय गरेका छन् ।

उनले त्यसका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन चारवटै सुरक्षा निकायलाई अनुरोध समेत गरेका छन् । आपतकालिन कार्य सञ्चालन केन्द्र खटिएका जनशक्तिका लागि आवश्यक व्यवस्थापन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गर्ने उनले जानकारी दिए ।मन्त्री साहले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै न्यूनिकरणका लागि आवश्यक व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।

तत्कालीन आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादवले सञ्चालन सम्बन्धी कार्यविधि नै नबनाई कमिसनको लोभमा ९ वटा वारुणयन्त्र हतारमा खरिद गरेको आरोप लगाइएको थियो ।

सबै प्रकारको प्राकृतिक विपत्तिको सामना गर्न तथा त्यसबाट हुने क्षतिलाई ७० प्रतिशतले कम गर्ने उद्देश्यसहित प्रदेश सरकारले बाढीको समयमा उद्धार तथा राहत दिनका लागि चाहिने उपकरण, रबर बोट, लाइफ ज्याकेट तथा गर्मीमा हुने आगलागी नियन्त्रणका लागि वारुणयन्त्र वार्षिक कार्यक्रम अन्तर्गत खरिद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top