एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा कुनै दुःख नलागेको बताएका छन् ।
ह्वाइट हाउसमा पत्रकारसँग बोल्दै बाइडेनले उक्त कुरा बताएका हुन् । उनले अमेरिकाले अफगानिस्तानलाई गरेको वाचा पूरा गर्ने बताए पनि आफ्नो राष्ट्रका लागि आफै लड्नुपर्ने कुरामा जोड दिए ।
अमेरिकाले अफगानिस्तानसँग हवाई सहायता, सेनाको तलब र अफगानी सुरक्षाबलको सप्लाई आदि कुरामा सहयोग गर्ने वाचा गरेको थियो ।२० वर्षको सैन्य अभियानपछि अमेरिकी सैनिकको फिर्ती भएको छ । फिर्तीसँगै तालिबानको ज्यादती बढ्दै गइरहेको छ । अफगानी सैनिक र तालिबानबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ ।
तालिबानले अहिलेसम्म कम्तीमा पनि ८ प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ । अरू सहरमा पनि कब्जा गर्ने दाउमा तालिबान छ ।तालिबानले केही दिन अगाडि चाँडै नै सिँगै देश आफ्नो पोल्टामा हाल्ने बताएको थियो ।
संयुक्त राष्ट्र संघका अनुसार बितेको तीन महिनामा तालिबान र सुरक्षाकर्मीबीच झडप हुँदा एक हजारभन्दा धेरै आमनागरिक मरिसकेका छन् । यसैगरी करिब ढाइ लाख नागरिक विस्थापित भएका छन् ।
तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।
प्रतिक्रिया