ताजा समाचार


३८ तोला सुनसहित ३ जना पक्राउ

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १७: ४२ मा प्रकाशित




कैलाली । कैलाली प्रहरीले ३८ तोला अवैध सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली अत्तरियाको शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का भवानी घिमिरे रहेका छन् ।

विशेष सुचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले ३८ तोला (४४९.७७ ग्राम) सुन सहित उनीहरुलाई पक्राउ गरिएको बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ । ‘अत्तरियामा काठमाडौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा उक्त बसका कण्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको थियो,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘बसमै सवार राजु बिकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन बरामद गरिएको हो । उनको साथबाट नगद ६ हजार ९ सय बरामद गरिएको छ ।’

उनीहरुसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतीको खुलेपछि सिजापतीलाई पनि पक्राउ गरिएको जनाइएको छ । सिजापतीको खानतलासी गर्दा उनको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र १६ हजार ३ सय नगद बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top