जनकपुरधाम । सिरहास्थित मारूती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनु पर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वन जंगल संरक्षण अभियानका अभियानीहरुले आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् ।
मधेशको लाइफलाइनको रुपमा रहेको चुरे तथा वनजंगलको अहिले केही निहित सोच भएका व्यक्ति तथा माफियाहरुका कारण दिन प्रतिदिन चुरे दोहन हुँदै गईरहेको अभियानका धनुषा संयोजक अमन यादवले बताए । चुरे विनाशकै कारण मधेशमा पानीको जलस्तर समेत घट्दै गईरहेको अवस्थामा चुरे विनाश हुनबाट बचाउनु सबैको कर्तव्य रहेको उनले बताए ।
चुरे अभियानीहरु माथि लगाईएको झुठा मुद्दा खारेज हुनु पर्ने, वन नियमावली २०५१ को दफा २२ लाई मिचेर डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको र सो कुन आधारमा गरेको हो त्यसको छानविन हुनु पर्ने, गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिरहाले कोटेशन मार्फत खरिद गरेको फलफूल विरुवा खरिदमा गरेको अनियमितताको छानविन हुनु पर्ने र आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा डिभिजन वन कार्यालय सिरहाले गरेको कार्यहरुमाथि छानविन हुनु पर्नेलगायतका माग उनीहरुले गरेका छन् ।
यस अघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक पटक ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर आफूहरु आमरण अनसनमा बस्न लागेको चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सह संयोजक रानी रायले बताईन् ।
अभियानका केन्द्रिय सह–संयोजक रानी राय, धनुषा संयोजक अमन यादव, महोत्तरी संयोजक सविता यादवलगायतका व्यक्तिहरु आमरण अनसनमा बस्न लागेका हुन् ।
प्रतिक्रिया