ताजा समाचार


‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मत पारित

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १६: ४७ मा प्रकाशित




काठमाण्डौ । बुधबार राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित गरिएका छन् ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गरेको ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएका हुन् ।

सो विधेयकमाथिको छलफलका क्रममा सांसदहरुको जवाफ दिँदै मन्त्री कार्कीले रेल सञ्चालनको कानुन अभावले विधेयक पेस गरेको बताउँदै यसले रेल्वे कानुनको अभाव हट्ने र रेल्वे सेवा विस्तारमा सहयोग पुग्ने बताए ।

आजको बैठकले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ माथि विचार गरियोस’ भन्ने प्रस्ताव समेत स्वीकृत गरेको छ । प्रधानमन्त्री देउवाका तर्फबाट मन्त्री कार्कीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सो प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सरकारको जनताप्रति दायित्व हुने भएकाले लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्र पत्रकारिता मान्यताअनुसार नै सार्वजनिक सेवा प्रसारण विधेयक आएको जानकारी दिए ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सदस्य खिमलाल देवकोटाले रेडियो, टेलिभिजन र नेपाल टेलिभिजनसँगै प्रदेशले सञ्चालन गरेका मिडियालाई पनि विधेयकले समेट्नुपर्ने धारणा राखे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top