ताजा समाचार


पत्रकार महासंघ धनुषाले मनायो शास्त्रीको २४ औं स्मृति दिवस

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, २२: ५८ मा प्रकाशित




जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषाले जनकपुरधाम क्षेत्रको पत्रकारितामा अतुलनिय योगदान पुर्याएका पण्डित सुन्दर झा शास्त्रीको २४औँ स्मृति दिवस मनाएको छ ।

तत्कालिन पत्रकार संघ धनुषाका संस्थापक अध्यक्ष शास्त्रीले पत्रकारिता क्षेत्रमा पुर्याएको अतुलनिय योगदानलाई स्मरण गर्दै महासंघ धनुषा शाखाले पहिलोपटक उनको स्मृति दिवस मनाएको हो ।

कार्यक्रममा स्वर्गीय शास्त्रीको व्यक्तित्व र कृतित्वको विषयमा वक्ताहरुले प्रकाश पारेका थिए । वक्ताहरुले शास्त्री जस्तो प्रखर वक्ता र समालोचकको जनकपुरधाममा अहिले अभाव देखिएको बताएका थिए ।

शास्त्रीले सम्पादन गर्दै आएका मैथिली भाषाको फूलपात पत्रिका मैथिलीको पहिलो पत्रिकाको रुपमा रहेको छ । उनी मैथिली, नेपाली, हिन्दी र अंग्रेजी भाषामा दखल राख्दथे । शास्त्रीले मैथिली भाषा तथा साहित्यमा समेत अतुलनीय योगदान पुर्याएका थिए ।

यसअघिको महासंघ धनुषाको कार्य समितिले नवनिर्मित भवनको माथिल्लो तल्लाको नाम सुन्दर झा शास्त्री सभाकक्ष नामाकरण गरेको थियो । निवर्तमान अध्यक्ष अनिल कुमार मिश्रको सभाहललाई सुन्दर झा शास्त्री सभाकक्ष नामाकरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेपछि सो सभाहलको नाम उनको नाममा नामाकरण गरिएको थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै निवर्तमान अध्यक्ष मिश्रले शास्त्रीको नाममा लेखनवृत्ति कोष स्थापना गर्न पत्रकार महासंघ धनुषालाई सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा सम्पन्न स्मृतिसभामा पत्रकार महासंघ प्रदेश समितिका उपाध्यक्ष ज्योति झा, धनुषा शाखाका निवर्तमान अध्यक्ष अनिल कुमार मिश्र, पत्रकार एवं साहित्यकार नित्यानन्द मण्डललगायतकाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top