जनकपुरधाम । एसिड बिक्रेता नागेन्द्र साहलाई जिल्ला अदालतले सफाइ दिएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।
जिल्ला अदालत धनुषाले आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिव साहलाई दोषी करार गरेपनि एसिड बिक्रेता नागेन्द्रलाई सफाइ दिएपछि सरकारी वकिलको कार्यालय धनुषाले पुनरावेदन गर्ने भएका छन् ।
सरकारी वकिल कार्यालयका मुख्यन्यायाधिवक्ता सीताराम अर्यालले अदालतले आरतीका पतिलाई दोषी करार दिएपनि एसिड बिक्रेतालाई सफाइ दिएकोले यस आदेश विरुद्ध पुनरावेदन गर्ने बताए । उनले भने, ‘सोमबार जिल्ला अदालतले आरतीका पतिलाई दोषी करार दिएपनि एसिड बेच्ने व्यापारीलाई सफाइ दिइएको हो । अदालतको पूर्ण फैसला आइसकेपछि हामी पुनरावेदन गर्छौ ।’
सोमबार जिल्ला अदालत धनुषामा कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीव साहलाई दोषी ठहर गरेको थियो भने एसिड बिक्रेता नागेन्द्र साहलाई सफाइ दिएको थियो ।
गत कात्तिक २९ गते दिपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जिव साहले एसिड प्रहार गरेका थिए ।
प्रतिक्रिया