ताजा समाचार


मापदण्ड विपरित घर निर्माण गरेको भन्दै जरिवाना, रेडियो सञ्चालकलाई समेत कारवाही

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, १९: ११ मा प्रकाशित




-किरण कर्ण, जनकपुरधाम । जनकपुरधामस्थित एक रेडियोको टावर गैरकानूनी रहेको ठहर गर्दैै जनकपुरधाम उपमहानगरपालिकाले जरिवाना गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने राजेश साहले उपमहानगरको मापदण्ड विपरित ४ तल्ले घर निर्माण गरेको र सो घरको छतमा गैरकानूनी ढंगले रेडियो मिथिलाको टावर खडा गरेको भन्दै २०/२० हजार रुपैयाँ जरिवाना गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक रिता कुमारी मिश्र समक्ष वादी चन्द्रमोहन चौधरीले रेडियो मिथिलाको टावरले व्यापक क्षती हुने र विना ईजाजत निर्मित टावर हटाई पाउँ भन्दै मुद्दा दायर गरेका थिए ।

०७२ सालमा दिएको सो मुद्दालाई बेवास्ता गर्दै खारेज गरिएको थियो । तर वादी चौधरीले उच्च अदालत जनकपुरधाममा ०७३ मा मुद्दा दिएपछि सो मुद्दामाथि न्यायाधिश मोहम्मद साविर हुसैन र न्यायधिश ठाकुर प्रसाद शर्मा पौडेलको संयूक्त ईजलासले कारवाही गर्नका लागि पुनः उपमहानगरलाई आदेश दिएको थियो ।

त्यसपछि न्यायिक समितिका संयोजक मिश्रले राजेश साह र उनको घरमा रहेको रेडियो मिथिलालाई विपक्षी बनाई रेडियो मिथिलाको टावर गैर कानूनीरुपमा खडा गरिएको र गैरकानूनी ढंगले ४ तल्ले घर निर्माण गरेको भन्दै घरधनीबाट २० हजार रुपैयाँ र रेडियो मिथिलाका सञ्चालकसंग समेत २० हजार रुपैयाँ तिराएको थियो ।रेडियोको टावर हटाउनका लागि समेत उपमहानगरले निर्णय गरेको छ ।

रेडियोका सञ्चालकलाई हाजिर हुनका लागि २०७५ पुस २३ गते नै उपमहानगरले पत्राचार गरेपनि सञ्चालक विश्वनाथ साह हालसम्म पनि उपमहानगरको न्यायिक समितिमा उपस्थिती नहुदाँ कारवाही प्रक्रिया अघि बढाइएको छैन ।

यता वादी चौधरीले उपमहानगरले २०७५ पुसमै निर्णय गरेपनि हालसम्म रेडियोका सञ्चालक साहले सो ठाउँबाट टावर नहटाएकोमा आक्रोश व्यक्त गरेका छन् । उनले निर्णय भएको ३ वर्ष वित्दा पनि हालसम्म उपमहानगरले आफुलाई अनाहकमा तारेख माथि तारेख दिएर गलत कार्य गर्नेलाई प्रोत्साहन र समाजको भलो सोच्नेलाई निरुत्साहित गरेको आरोप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top