ताजा समाचार


धनुषाको सखुवामा आपसी विवादमा खुकुरी प्रहार, एक जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, १५: ५६ मा प्रकाशित




–विनोद महतो, महेन्द्रनगर । आपसी विवादमा कुटाकुट हुँदा धनुषामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–६ सखुवा बजार नयाँ टोल बस्ने करिव ३५ वर्षीय ओम मल्लिक डोम रहेका छन् ।

ओमको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा सोमबार राति मृत्यु भएको परिवारजनले जनाएका छन् । गत साउन १८ गते सोमबार राति करिव १० बजे आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग विवाद हुँदा झगडा भएको थियो । झगडाकै क्रममा राकेशले ओमको पेटमा आँत समेत काटिने गरी खुकुरी प्रहार गरेका थिए । त्यस्तै, राकेशकी दिदी रिंकी देवी कुर्मीले समेत ओमको टाउकोमा चिर्पट प्रहार गरेको स्थानीय प्रत्यदर्शीले बताएका छन् ।

गम्भीर अवस्थामा पुगेका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर भएपछि जनकपुर रेफर गरियो । जनकपुरमा समेत उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था बिग्रिदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्रममा ओमको मृत्यु भएको हो ।

यता ओमको शव महेन्द्रनगर ल्याइदै छ । शव महेन्द्रनगरमा ल्याएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी हत्यारालाई पक्राउ र कारवाही गर्न दवाव दिने पीडितका आफन्तले बताएका छन् । प्रहरीले घटना विषयमा कुनै चासो नदेखाएको पीडित परिवारको गुनासो छ ।१८ साउनमा झगडा भएको र १९ साउनका दिन ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएपनि प्रहरीले हत्याका आरोपी राकेशलाई पक्राउ नगरेको भन्दै पीडित परिवार आक्रोशित भएका छन् ।

यसैबीच ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटनाको अनुसन्धानका लागि घटनासँग सम्बन्धित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक बहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर लगतै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । ईन्सपेक्टर सुनारले नियन्त्रणमा लिएको व्यक्तिको नाम खुलाउन चाहेनन् ।

मृतक ओमको श्रीमति, दुई छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top