कैलाली । कैलालीमा एक वडाध्यक्षसहित दुई जना हतियार सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर–९ का वडाध्यक्ष ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाह रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मसुरियाबाट खटेको प्रहरी टोलीले गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार शाहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा जीपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु–टु १ थान तथा त्यसमा लाग्ने गोली १० राउण्ड बरामद गरिएको थियो ।
जीपमा धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका–९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
पक्राउ परेका दुबैलाई हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया