ताजा समाचार


प्रदेश २ : किसान उत्थानका लागि ल्याइएका ६ करोडको योजना कागजमै सिमित

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १८: २८ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ मा किसान उत्थानका लागि ल्याइएका योजनाहरु कागजमै सिमित भएको देखिएको छ ।

प्रदेशको समग्र विकासका लागि कृषि क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै प्रदेशसभामा सांसदहरुले पटक पटक आवाज उठाउँदै आईरहे पनि सरकारले योजना कार्यान्वयमा कुनै चासो लिएन ।

प्रदेशको भुमि व्यस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रका साथै साना किसानहरुको वृति विकासका लागि विभिन्न योजनाहरु बनाएपनि कार्यान्वयन भने हुन सकेको छैन् ।

सो मन्त्रालयले आर्थिक वर्ष २०७७ /०७८ मा मुख्यमन्त्री किसान उत्थान आयोजना कार्यक्रमका लागि ५ करोड तथा लाईफ स्कुल सेन्टर धनुषामा कृषि इनोभेसन सेन्टर निर्माणका लागि १ करोड रुपैयाँ विनियोजना गरेपनि दुबै योजना कागजमै सिमित रह्यो ।

मुख्यमन्त्री किसान उत्थान आयोजनाका लागि समयमा कार्यविधि तयार हुन नसकेकाले गत आर्थिक वर्षमा योजना सञ्चालनमा नआउँदै रकम फ्रिज भएको बताइएको छ ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले यस आयोजनाका लागि कार्यविधि निर्माण गर्न धेरै समय लागेको र कृषकको विषयमा मालपोत कार्यालयले विवरण उपलब्ध नगराएपछि रकम फ्रिज भएको जानकारी दिए । उनले हतारमा काम गर्दा लक्षितवर्गले लाभ नपाउने अवस्था आएपछि योजना सञ्चालनमा ल्याउन नसकिएको बताए ।

त्यस्तै, तत्कालिन आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञान्द्रकुमार यादवले धनुषामै सञ्चालन गरेको गैर सरकारी संस्था लाईफ स्कुललाई फाइदा पुग्ने गरी कृषकहरुलाई तालिम दिने व्यवस्था गर्न इनोभेसन सेन्टर निर्माणका लागि विनियोजन गरिएको १ करोडको विषयलाई लिएर मन्त्रीपपिरषदमै विवाद भएपछि योजना नै सञ्चालनमा आउन नसकेको स्रोतको दावी छ । मन्त्रीकै संस्थालाई योजना दिइएको विषयमा विवाद उत्पन्न भएपछि बजेट नै रोक्का गर्नु परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top