ताजा समाचार


खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १८: ०६ मा प्रकाशित




काठमाण्डौ । संसदीय समितिले कोरोनाको खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए÷नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

सोमबार सिंहदरबारमा बसेको बैठकले खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराएको समितिकी सभापति निरुदेवी जैरुले जानकारी दिइन् । उनले भनिन्, ‘खोपमा अनियमितता भएको कुरा विभिन्न सञ्चारमाध्यममा आइरहेको अवस्थामा सोको छानबिन गरी दोषी प्रमाणित भएमा कानुनको दायरामा ल्याउन सरकारलाई निर्देशन गरिन्छ ।’

समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्वतयारीका लागि आवश्यक सामग्रीको उचित प्रबन्ध गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । सभापति जैैरुले कोभिड संक्रमितको संख्यामा वृद्धि हुन लागेकाले उनीहरुको उपचार तथा तेस्रो भेरियन्ट आउन नदिने गरी तयारी गर्न पनि सरकारलाई भनिएको स्पष्ट पारिन् ।

बैठकमा समितिका सदस्यहरुले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न ढिलाइ नगर्न सरकारलाई सचेत गराएका थिए ।समितिका सदस्य एवं नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था छिटो गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top