ताजा समाचार


प्रदेश प्रहरीले आफ्नो जिम्मामा लिन अस्विकार गरेपछि ५ करोडको वारुणयन्त्र प्रयोगविहीन

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १६: ३२ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारले आगलागीबाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न खरिद गरेको ९ वटा वारुणयन्त्र प्रयोगविहीन अवस्थामा रहेका छन् । सरकारले गत जेठ २८ गते ५३ लाख रुपैयाँका दरले ४ करोड ७७ लाख रुपैयाँमा ति वारुणयन्त्रहरु खरिद गरेका थिए ।

खरिद गरिएका वारुणयन्त्रहरु ८ वटै जिल्ला प्रशासन कार्यालय र एउटा २ नम्बर प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेपनि अहिले आएर प्रदेश प्रहरी कार्यालयले ति वारुणयन्त्रहरु आफ्नो जिम्मामा लिन अस्विकार गरेको छ ।

यसको सञ्चालनमा लाग्ने खर्च व्यवस्थापन नभएसम्म आफुहरुले जिम्मा नलिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वारुणयन्त्र सञ्चालन गर्न आवश्यक पर्ने इन्धन र मर्मत सम्भारका लागि बजेट माग गरेपछि सरकार ति वारुणयन्त्रहरु प्रहरीलाई जिम्मा लगाउन अलमलमा परेको छ ।

तत्कालीन आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादवले सञ्चालन सम्बन्धी कार्यविधि नै नबनाई कमिशनको लोभमा ९ वटा वारुणयन्त्र हतारमा खरिद गरेको आरोप लगाइएको छ । ति वारुणयन्त्रहरु प्रदेश प्रहरीलाई जिम्मा लगाउने बताइएपनि वर्तमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रहरी अझै प्रदेश मातहतमा आउन नसकेकोले त्यसमा लगानी गर्न नहुने बताउँछन् ।

प्रदेश २ का प्रहरी प्रमुख डिआईजी उमेश रञ्जितकारले वारुणयन्त्र चलाउन जनशक्ति दिन तयार रहेपनि सञ्चालनको लागि चाहिने ईन्धन, मर्मत सम्भारको लागि खर्च प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।

उनले भने, ‘हामीसँग भएका गाडीहरु समेत सञ्चालनका लागि इन्धनको तथा मर्मतका लागि बजेटको अभाव छ । यस्तो अवस्थामा थप सवारीका लागि चाहिने इन्धन तथा मर्मतको खर्च हामी कहाँबाट ल्याउछौ ?’

यस सम्बन्धमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव विरेन्द्र यादवले खरिद गरिएका ति वारुणयन्त्रहरु प्रदेश प्रहरीलाई हस्तान्तरण गर्ने विषयमा छलफल भईरहेको बताए ।

सबै प्रकारको प्राकृतिक विपत्तिको सामना गर्न तथा त्यसबाट हुने क्षतिलाई ७० प्रतिशतले कम गर्ने उद्देश्यले प्रदेश सरकारले दीर्घकालीन रणनीति कार्य योजना अन्तर्गत बाढीको समयमा उद्धार तथा राहत दिनका लागि चाहिने उपकरण, रबर वोर्ट, लाइफ ज्याकेट तथा गर्मीमा हुने आगलागी नियन्त्रणका लागि वारुणयन्त्र वार्षिक कार्यक्रम अन्तर्गत खरिद गरे पनि ती सबै वारुणयन्त्र मधेस भवनको परिसरमै रहेको खेल मैदानमा थन्क्याएर राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top