ताजा समाचार


मेयरका भाइद्वारा बाख्रा वितरणको नाममा पाँच लाखको अनियमितता

द रियल समाचार     २०७८ श्रावण २४, आईतवार, १७: ०१ मा प्रकाशित




जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासका भाइ लखन दासले बाख्रा वितरणको नाममा झण्डै पाँच लाख रुपैयाँ अनियमितता गरेको रहस्य खुलेको छ ।

नगरपालिकाका निमित प्रशासकीय अधिकृत सञ्जिव साहको मिलेमतोमा लखनले १० वटा मात्रै बाख्रा वितरण गरी ४ लाख ७० हजार रुपैयाँ भुक्तानी लिएको खुलासा भएको हो ।

लखनले विदेह नगरपालिका–७ स्थित भगवती बाख्रा पालन कृषि समूह जोगियाबाट एक सय वटा बाख्रा खरिद गरेको बिल नगरपालिकामा पेश गरी ४ लाख ७१ हजार भुक्तानी लिएको कार्यालय श्रोतले जनाएको छ । दासले ९/१० वटा मात्र बाख्रा वितरण गरी निमित प्रशासकीय अधिकृत साहसँग साँठगाँठ गरी एक सय वटाको प्रमाण बनाएर नगरपालिकाबाट सो रकम झिकेका हुन् ।

लखनले नगरपालिकाबाट बाख्रा वितरणको नाममा झिकेको ४ लाख ७० हजार बाख्रा खरिद गरेको भनिएको भगवती बाख्रा पालन कृषि समूहका सञ्चालक हरिशंकर यादवलाई मात्र ४५ हजार दिएका छन् । बाँकी सबै रकम ४ लाख २५ हजार आफैँ राखेको सुन्नमा आएको नगरपालिकाका कृषि तथा बालि विकास अधिकृत चन्देश्वर ठाकुरले बताए ।

तर नगरपालिकाले सय वटा बाख्रा वितरण गरेको कागजी प्रमाण चुस्त राखेको छ । वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमानले मेयरका भाइ लखन दासले बाख्रा वितरणको नाममा नक्कली बिल भर्पाइ बनाएर भ्रष्टाचार गरेको आरोप लगाए । उनले बाख्रा वितरण अनियमिततामा निमित प्रशासकीय अधिकृत साह, मेयर दास र उनका भाइ लखनको संलग्नता रहेको दावी गरे ।

अधिकृत ठाकुरले मेयरका भाइ लखनले एक सय बाख्रा वितरण गरेको भन्दै असारको अन्तिम साता कार्यालयमा आएर आफूसँग जवर्जस्ती भर्पाइ समेत गराएको प्रतिक्रिया दिए ।

‘एक सय बाख्रा वितरण भयो भनेर मेयरका भाइले मसँग जवर्जस्ती भर्पाइ गराउनु भयो । वितरण भयो कि भएन मलाई थाहा भएन । पछि चेक भगवती फारमको नाममा बन्यो’ अधिकृत ठाकुरले भने, ‘४ लाख ७० हजारबाट ४५ हजार काटेर बाँकी रकमको चेक फारमबाट काटेर लखनले लिनु भयो । यो कुरा फारमका सञ्चालक हरिशंकरले नै मलाई सुनाए ।’

यता बाख्रा फारमका सञ्चालक हरिशंकरले नगरपालिकाले आफूसँग एक सय बढी बाख्रा किनेको दावी गरे । आफू बाहिर रहेकोले कति बाख्रा दिएको र कतिको बिल दिएको कुरा भेटेपछि मात्र जानकारी दिन सक्ने भन्दै पन्छिए । उनले नगरपालिकालाई काटेर दिएको बिलको प्रतिलिपी समेत आफूसँग नभएकाले नगरपालिकामै बुझ्न आग्रह गरे ।

नगरप्रमुख बेचन दास र निमित प्रमुख प्रशासकीय अधिकृत संजिव साहले भने बाख्रा वितरण भएको दावी गरेका छन् । साहले बाख्रा वितरण भएको सबै प्रमाण नगरपालिकासँग रहेको बताए । नगरप्रमुख दासले सय वटा नै बाख्रा वितरण भएको दावी गर्दै गाउँमा गएर बुझ्न आग्रह गरे ।

विदेह नगरपालिकामा मेयर दासले तल्लो तहका कार्मचारी इन्जिनियर साहलाई निमित प्रशासकीय अधिकृत बनाएर धेरै योजनाहरु कागजमै काम गरी करोडौं रुपैयाँ अनियमितता गरेको स्थानीय बासिन्दाको आरोप छ ।

नगरपालिकामा कुनै पारदर्शीता नभएको स्थानीयले गुनासो गरेका छन् । सूचनाको हक प्रयोग गर्दा पनि गरेको अनियमितताको भण्डाफोर हुने डरले सूचना दिन निमित प्रशासकीय अधिकृत साहले जालझेल गर्दै आएको चन्द्रदीप यादवले आरोप लगाए ।

साहले राष्ट्रिय सूचना आयोगको आदेशलाई पनि वेवास्ता गर्दै आएका छन् । मेयर दासले कार्यालय सहयोगीसँग कार्यकक्षमै मालिस गराएको तस्बीर भाइरल भएपछि उनी अहिले चर्चामा छन् ।

–नेपालखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top