जनकपुरधाम । विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकंन र नियमन, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याकंन गर्नुपर्ने दायित्व रहेको स्थानीय तहका जनप्रतिनिधिले आफ्नो दायित्व बिर्सेर व्यक्तिगत सुख सुविधामा लिप्त भएको देखिएको छ ।
यसको पछिल्लो उदाहरण स्वरुप प्रदेश २ को धनुषा जिल्लास्थित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आफ्नो कार्यकक्षभित्रै कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउँदै गरेको फोटो सार्वजनिक भएको कुराले प्रष्ट बुझ्न सकिन्छ ।
मेयर दासले आफ्नै नगरपालिकामा काम गर्ने कार्यालय सहयोगी करण दाससँग आफ्नो कार्यकक्षमा सोफामा आरामले बसेर खुट्टा मालिस गराइरहेको तस्बिर समाजिक सञ्जालमा हालिएपछि उनको चौतर्फी आलोचना भएको हो ।
कोठाको भित्रबाट चुकुल लगाएर मेयर दासले कार्यालय सहयोगीसँग खुट्टा मालिस गराइरहेको अवस्थामा उनकै नजिकका एक व्यक्तिले सो तस्बिर झ्यालबाट खिचेको बताइएको छ ।
यससम्बन्धमा मेयर दासले आफूलाई सञ्चो नभएपछि एकछिनका लागि कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउन लगाएको बताए । उनले कार्यालय सहयोगी करण आफ्नो भाइ रहेकोले यसलाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया दिए ।
मेयर दासमाथि यसअघि पनि गाउँघरको झगडा तथा अन्य कुनै मुद्दामामिलामा आफू अनुकुल नभए पीडितलाई नै कुटन लगाउने, आफ्नै नगरवासीलाई दुःख दिने गरेकोलगायतका थुप्रै आरोपहरु छन् ।
विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साह र मेयर बेचन दासले मिलेर बिना योजनाकै करोडौँ कामहरु कागजमै गरेर रकम बाँडफाँड समेत गरेको आरोप छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत साह सुरुदेखि नै विदेह नगरपालिकामा कार्यरत रहेका छन् । उनको अहिलेसम्म सरुवा समेत भएको छैन् ।
प्रतिक्रिया