जनकपुरधाम । मधेश आन्दोलनमा दर्जनौंले शहादत प्राप्त गरे भने सयौँ घाइते भए । मधेश आन्दोलन भएको १५ वर्ष पुग्न लाग्दा समेत मधेशी जन समुदायको अवस्था उस्तै छ । तर, मधेश आन्दोलनलाई उस्काउने मधेश केन्द्रित दलका नेताहरुका लागि भने फलिफाप भएको छ ।
मधेश आन्दोलनमाथि नै टेकेर नेताहरु पटक–पटक मन्त्री भए । कतिपयले राजनीतिक नियुक्ती पाए । नेताहरुका लागि मधेश आन्दोलन सत्ता प्राप्तिका लागि भर्याङ बन्न पुग्यो । आन्दोलनका बेला मधेशी जनतालाई ठूला–ठूला सपना बाँडियो । तर, आन्दोलन भएको १५ वर्षसम्म न त जनताको जिवनस्तर नै माथि उकासिएको छ न त पटक–पटक मन्त्री बनेका नेताहरुले मधेशको विकास नै गरे । उनीहरु केबल आफ्नो र आफन्तको विकास गर्न भने सफल भए । आन्दोलनकारीहरुको हालत अहिले पनी उस्तै छ भने शहिद परिवारको हाल बेहाल छ ।
प्रदेश २ मा सरकारको नेतृत्व गर्ने जिम्मा मधेशवादी दललाई दिइएपनि सहिदहरुको नाममा सञ्चालित अधिकांश योजनाहरुको रकम रकमान्तर गरेर अन्यत्र खर्च गरिएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले सहिद परिवारका लागि तय गरिएका योजनाहरु सञ्चालन नै नगरी योजनाका लागि छुट्याइएको रकम तलब भत्तामा खर्च गरेको पाइएको हो ।
मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृत भएका कार्यक्रमहरु मधेस आन्दोलनको क्रममा अंगभंग, घाइते तथा शहादत प्राप्त गरेका सहिद एवं तिनका परिवारका सदस्यहरुका लागि स्वरोजगार कार्यक्रम योजनाको नाममा २५ लाख र मधेस सहिद विज्ञान प्रतिष्ठानका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर विनियोजित रकम योजना पुस्तिकामा मात्रै सिमित रह्यो । सो शीर्षकमा छुट्याइएको रकम अन्यत्र रकमान्तर गरिएको छ ।
मन्त्रालयका शाखा अधिकृत रामहृदय यादवले मन्त्रालय मातहतका कार्यालयहरुले माग गरेको अपुग अनिवार्य दायित्वका शीर्षकहरुमा पारिश्रमिक, विद्युत महसुल, स्वास्थ्य सुरक्षा सामग्री खरिदमा रकम खर्च गरिएको जानकारी दिए । उनले सो शीर्षकका सबै रकम रकमान्तर गरी तलब भत्तामा खर्च गरिएको बताए । सहिद प्रतिष्ठानका लागि सामाजिक विकास मन्त्रालयले छुट्याए पनि सो प्रतिष्ठान आन्तरिक मामिला मन्त्रालयको मातहतमा गठन गरिएको छ । सो प्रतिष्ठानको संयोजकसमेत आन्तरिक मामिला मन्त्रीलाई नै बनाइएको छ ।
यस सम्बन्धमा मधेसी सहिद परिवार हकहित संर्घष समितिका संयोजक वीरेन्द्र रायले सरकारले सहिद परिवारका लागि योजनाको नाममा रकम छुट्याएपनि त्यसलाई कार्यान्वयन गर्न आलटाल गर्दै आइरहेको आरोप लगाए । रायले प्रतिष्ठानमा सहिद परिवारबाटै दुई जनालाई राख्ने प्रवाधान रहेपनि सहिद परिवारमध्येबाट कसैलाई सामेल नगरिएको बताए । उनले प्रतिष्ठानको नाममा प्रदेश सरकारले आफूहरुलाई ठगिरहेको आरोप समेत लगाए ।
प्रदेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका सहिदहरुको परिवारबाट योग्यताअनुसारको जागिर दिने घोषणा गरेको थियो । सरकारले मधेशी सहिद प्रतिष्ठान खोल्ने घोषणासमेत ग¥यो । सहिदहरुकै नाउँमा प्रत्येक वर्ष विभिन्न मन्त्रालयमार्फत् विभिन्न योजनाहरुसमेत सञ्चालन भइरहेका छन् । तर, व्यवहारमा भने सबै फरक देखिएको छ ।
मधेश आन्दोलनको क्रममा १ सय १७ जना सहिद भएको तथ्यांक छ । जस अन्तर्गत २०६३/०६४ मा ५४ जना, २०७२/०७३ मा ५६ जना,२०७३ मा ५ जना (सप्तरी) र २०७४ मा २ जनाले शहादत प्राप्त गरेका थिए । २०६३ सालको मधेश विद्रोहको क्रममा जनकपुरधाममा मात्रै जनकपुरधाम उपमहानगरपालिका–१४ का कारी ठाकुर, गणेशमान चारनाथ नगरपालिकाका ब्रम्हदेव ठाकुर, जनकपुरधाम–४ का राजेश ठाकुर र धनुषाधाम नगरपालिकाका बाबु नारायण यादवले शहादत दिएका थिए ।
त्यस्तै, २०७२ सालको मधेश विद्रोहको क्रममा लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलिप यादव, जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय चौधरीले शहादत प्राप्त गरेका थिए ।
प्रतिक्रिया