जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा सञ्चारकर्मीहरुमाथि भएको हातपात घटनामा जिल्ला प्रशासन कार्यालय धनुषाले दोषीसँग ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न लगाएको छ ।
नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष अनिल मिश्रले दिएको जाहेरीको आधारमा सो घटनामा संलग्न प्रतिवादीहरु उपेन्द्र कुमार साह र धर्मेन्द्र कुमार साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले जरिवाना तिराएको हो ।
प्रतिवादी उपेन्द्रलाई १ हजार र धमेन्द्रलाई ५ सय रुपैयाँ जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयले सञ्चारकर्मीहरुको क्यामरा तथा मोबाईलको क्षतिपूर्ति व्यहोर्न तिनीहरुबाट ५० हजार रुपैयाँ क्षतिपुर्ति उपर गर्ने फैसला समेत गरेको हो ।
सोही घटनामा संलग्न अरुण कुमार साह र ब्रजकिशोर सिंहलाई सफाई दिइएको छ । ति दूबैजनालाई सफाई दिइएकोमा असन्तुष्टि व्यक्त गर्दै पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष मिश्रले फैसला बिरुद्ध पुनरावेदन गर्ने बताए । उनले भने,‘जिप्रका धनुषाले दवाबमा आएर दूबैलाई सफाई दिएको छ, यो फैसला हामीलाई मान्य छैन, यसबिरुद्ध पुनरावेदन गर्ने तयारी गर्दैछु ।’
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको उपस्थितिमै उनका कार्यकर्ता तथा नगर प्रहरीले पत्रकारहरुसँग अभद्र व्यवहार गर्नुका साथै हातपात गरेका थिए । सो घटनामा केही पत्रकारहरुलाई चोटपटक समेत लागेको थियो ।
२०७६ साल पुस २२ गते विवादित जानकी मन्दिरको फुलवारी सम्बन्धमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुसँग मेयरकै कार्यकक्षमा हातपात गरिएको थियो । सो घटना पश्चात अध्यक्ष मिश्रले धमेन्द्र कुमार साह, अरुण कुमार साह, ब्रजकिशोर सिंह र उपेन्द्र कुमार साह विरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दिएका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाको परिसर भित्र पत्रकारहरुलाई गालिगलौज गरी कुटपिटका साथै क्यामरा तथा मोबाईल समेतमा क्षति पु¥याएको भन्दै अध्यक्ष मिश्रले जिप्रका धनुषामा मुद्दा दर्ता गराएका थिए ।
सोही घटनालाई लिएर नगरप्रमुख लालकिशोर साह विरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा चलिरहेको छ । घटनामा दोषी ठहरिए नगरप्रमुख साहलाई समेत सजाय हुने सम्भावना प्रबल रहेको छ ।
प्रतिक्रिया