ताजा समाचार


पुजारीलाई मदिरा पिउने हतारोले छिन्नमस्ता मन्दिरको मुकुट चोरी !

द रियल समाचार     २०७८ श्रावण २०, बुधबार, १७: ०० मा प्रकाशित




जनकपुरधाम । प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरका पुजारीहरु मदिरा पिउने हतारोले मन्दिरको ढोका खुलै राखेर होटलमा गएपछि मुकुट चोरी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सोही साँझ ७ बजे मन्दिर प्रवेश गरेका विष्णुपुर गाउँपालिका–५ मझौका २३ वर्षीय राजेशकुमार मण्डलले भगवतीको मस्तक निकालेर लगेका थिए ।

आइतबार साँझ (मुकुट चोरी भएको दिन) ड्युटीमा रहेका पुजारी सुनीलकुमार मिश्र मन्दिरको छेउमै रहेको होटलमा गएर मदिरा सेवन गरेको बताइएको छ । पुजारी मिश्रले मन्दिरको ढोका नै बन्द नगरी मन्दिरको मुख्यद्वारमै रहेको होटलमा गएर घरेलु मदिरा सेवन गरे । त्यस्तै, अर्का पुजारी गौरीशंकर ठाकुरले पनि मदिरा सेवन गरेका थिए । अर्का एक पुजारी श्रवणकुमार ठाकुरले कोरेक्स सेवन गरेको बताइएको छ ।

भगवती मन्दिरसँगै टाँसिएर करिब एक दर्जन मदिरा पसल सञ्चालनमा रहेका छन् । ऐतिहासिक महत्वको मन्दिरनजिक दर्जनौं संख्यामा जथाभावी मदिरा व्यवसाय सञ्चालन गर्दा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

यता छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष दीपेन्द्र यादवले पुजारीहरूले नियमित रूपमा मदिरा सेवन गर्ने गरेको बताए । मदिरा ऐन र नियमावलीविपरीत मन्दिरको सौन्दर्य बिगार्ने गरी खुलेका मदिरा, माछा, मासु पसल बन्द गर्न लाखौं प्रयास गरे पनि नसकिएको यादवले बताए ।

मानसिक सन्तुलन ठीक नभएका राजेशले आफ्नी ठूली आमालाई कोठामा लगेर देवीको मुकुट देखाए । घरपरिवारका सदस्य हुँदै गाउँलेबीच हल्ला फैलिएपछि वडाध्यक्ष जीवछ मण्डल राजेशको घर पुगे । वडाध्यक्ष मण्डलले मस्तक भेटिएको खबर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव र इलाका प्रहरी विष्णुपुरका असई देबेन्द्र यादवलाई दिए ।

चोरी भएको १२ घण्टाभित्र भगवतीको मस्तकसहित आरोपित राजेश घरमै पक्राउ परे । उनी मानसिक रोगी भएकै कारण चोरी भएको मुकुट सहजै बरामद भएको राजेशका छिमेकी श्यामसुन्दर मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top