एजेन्सी । जापानको टोकियो सहरमा जारी ३२ औँ संस्करणको गृष्मकालीन ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा ब्राजिल फाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलले मंगलबार इबराकी काशिमा रंगशालामा भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुट आउटमा ४–१ ले पारजित गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बाराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । ब्राजिलका लागि पेनाल्टी सुट आउटमा ड्यानी अल्भेस, गाब्रियल मार्टिनेली, ब्रुनो गुइमारेस र रेनियरले गोल गरे ।
मेक्सिकोका लागि कार्लोस राड्रिगेजले गोल गर्दा एडुआर्डो अगुइरी र जोहान भास्केज गोल गर्नबाट चुके । ब्राजिलले स्वर्ण पदकका लागि अगस्ट ७ मा जापान र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ओलम्पिक पुरुष फुटबलमा यू–२३ टिमको सहभागिता रहन्छ ।
प्रतिक्रिया