काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन ऊर्जामन्त्रीलाई निर्देशन दिएका छन् ।
देउवाले आवश्यक प्रक्रिया पुर्याएर घिसिङलाई कार्यकारी निर्देशक बनाउन ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका हुन् ।
कुलमान अघिल्लोपटक कार्यकारी निर्देशक नियुक्त भएको समयमा विद्युत प्राधिकरण दैनिक १४ घण्टाको लोडसेडिङ तालिका जनतालाई बाँडेर बसिरहेको थियो । घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको ६ महिनामै नेपालभर २४ सै घण्टा विद्युत् सेवा सुचारु राख्न सफल भएका थिए ।
अर्बाैं रकम घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान घिसिङको टिमले निकै मेहनत गर्नु परेको थियो । यही टिमको मेहनतले आव २०७६÷७७ मा सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थानको सूचीमा प्राधिकरण पहिलो बनेको थियो ।
उनले विद्युत् चुहावटलाई २६ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याएका थिए । त्रिशूली– थ्री ए, चमेलिया र कुलेखानी–३ जस्ता अवरुद्ध आयोजनाको निर्माणसम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न घिसिङको टिम सफल भयो ।
उनको कार्यकाल सुरु हुँदा ३४ अर्ब ६१ करोड रुपैयाँ संचित नोक्सानी रहेकोमा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएको थियो ।
प्रतिक्रिया