जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा मृत फेला परेका पल्टु रविदासको घटनामा डिएसपी सहित दुई जनालाई कारबाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय तानिएको छ भने सेन्ट्री खटेका प्रहरी जवान जय प्रकाश यादवलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।
प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले घटनाको छानविनका लागि डिएसपी मिश्रलाई प्रदेश तानिएको र सेन्ट्री खटेका प्रहरी जवानलाई निलम्बन गरिएको बताए । घटनामा दोषी नठहरिए उनीहरुको निलम्बन फुकुवा हुने उनले जानकारी दिए ।
यसैबिच, पीडित परिवारले मृतकको शव बुझ्न समेत तयार भएको बताइएको छ । मृतक रविदासको शव बुझ्न पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार दिउँसो पीडित परिवार, दलित अगुवा र अधिकारकर्मी तथा स्थानीय प्रशासनबीच भएको वार्तामा दुई बुँदे सहमति भएको बताइएको छ । घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन टोली गठन गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
मृतककी पत्नीलाई गाउँपालिकामा जागिरका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गर्ने तथा प्रदेश सरकारको तर्फबाट ५ लाख रूपैयाँ तथा संघ सरकारले १० लाख क्षतिपूर्ति दिनुपर्ने पीडित परिवार तथा दलित अगुवाहरूको माग छ ।
ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दामा थुनामा रहेका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदासको शव साउन १५ गते हिरासत कक्षमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो झुण्डिएको अवस्थामा भेटेको थियो ।
पल्टुको हत्या गरिएको भन्दै उनका परिवारजनले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन् । उनीहरू घटना भएकै दिनदेखि आन्दोलित बनेका थिए ।
प्रतिक्रिया