जनकपुरधाम । प्रदेश २ का महिला, बालबालिका यूवा तथा खेलकुद मन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता वीरेन्द्र सिंहले प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहलाई कारवाही गर्न माग गरेका छन् ।
मन्त्री सिंहले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई कारवाही नगरे आफुहरुले सामूहिक राजिनामा दिने चेतावनी दिएका हुन् ।
उनले भने, ‘पटक पटक विपक्षीसँग मिलेर विपक्षीको घरमा बसी पार्टीप्रति षड्यन्त्र गर्ने, कार्यकर्तालाई धाकधम्की दिने र पार्टीलाई कमजोर गर्ने क्रियाकलाप गरिरहेका सर्लाही क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद सिंहको तानाशाही प्रवृत्ति र आतंकबाट सिंगो क्षेत्र नम्बर–४ नै आतंकित भएकोले पार्टीले उनलाई कारबाही नगरे सो क्षेत्रका सबै तहका पदाधिकारी लगायत सबैले सामूहिक रूपमा राजीनामा गर्न बाध्य हुनेछौं ।’
मन्त्री सिंहले सांसद सिंह पार्टी भित्र षड्यन्त्र गरी विपक्षीसँग मिलेर पार्टी सिध्याउने खेलमा लागेकाले सर्लाही जिल्लामा पार्टी कमजोर भएको आरोप लगाए । उनले नेता सिंहको आतंकबाट सिङ्गो पार्टी समेत आतंकित भएको दावी गरे । प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा सहित एक दर्जन नेताले बिहीबार प्रधानमन्त्री देउवालाई पठाएको ध्यानाकर्षण पत्रमा प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई कारबाही नगरे आफूहरुले सामूहिक राजिनामा दिने चेतावनी दिएका छन् ।
मन्त्री सिंहले सामूहिक हस्ताक्षरसहित प्रधानमन्त्री देउवालाई पठाएको ध्यानाकर्षण पत्रमा महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको क्रियाशिल सदस्यता वितरण सम्बन्धी उत्पन्न अवान्छित, अस्वाभाविक र भदा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध उत्पन्न गरेको उल्लेख गरेका छन् ।
पत्रमा अमरेश सिंहको अहंकार, दुष्ट प्रवृत्ति, पटक पटक पार्टी र शिर्ष नेतृत्वको बारेमा दिने गैर जिम्मेवार अभिव्यक्ति, झुठो आश्वासन, कुरा लगाउने वाणी, क्षेत्रमा विपक्षीको घरमा बसेर पार्टी विरोधी गतिविधि र षड्यन्त्र गरी पार्टी कार्यकर्तालाई गाली गलौज गरि तर्साउन खोज्ने कार्य, पार्टीको विधि विधान, पद्धती र संगठनको निर्णयलार्य सधैँ वेवास्तता गरी कुल्चेर अगाडी बढ्न खोज्ने जिल्ला र क्षेत्रमा हुने पार्टीको कार्यक्रमहरुमा सहभागी नहुने, क्षेत्रमा कांग्रेसको तर्फबाट निर्वाचित पालिकाहरुलाई आफु अनुकुल अनावश्यक कार्य गर्न प्रेसर, धाक, धम्की, दुःख समेत दिने गरेको कुरा उल्लेख गरिएको छ ।
पटक पटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरी पार्टीलाई बदनाम गराउने विपत र दैविक प्रकोपको बेला पनि एक चोटी पनि क्षेत्रमा नआउने र अहिले महाधिवेशनको लागि जिल्ला र क्षेत्रले संचालन गरेका कार्यक्रमहरुमा नआउने तर वडा, पालिका, प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्य समितिहरुले गरेका निर्णयहरुलाई नमानी अगाडी बढ्न विभिन्न जालझेल र तानाशाही प्रवृत्ति अवलम्बन गर्ने सांसद अमरेश सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट कांग्रेस पार्टी र नेतालाई बचाउन सो पत्रमार्फत माग गरिएको छ ।
प्रतिक्रिया