काठमाण्डौ । नेपालले चीनसँग किनेको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपालले नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत चीनको राजधानी बेइजिङबाट उक्त खोप काठमाडौं ल्याएको हो ।
यसअघि नेपालले खरिद गरेर २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल ल्याएको थियो । बुधबार राति ११ बजे नेपालबाट उडेको जहाजले बिहीबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा दोस्रो खेप खोप ल्याएको हो ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनबाट थप खोप लिन बिहीबारै बेइजिङ जान लागेको छ । राति ११ बजे बेइजिङ जाने र शुक्रबार दिउँसो काठमाडौं आइपुग्ने बताइएको छ । पुनः शनिबार जहाजलाई बेइजिङ पठाउने कार्यतालिका छ । सो जहाज आइतबार थप खोप लिई काठमाडौं आउनेछ ।
नेपालले चीनबाट कुल ४० लाख डोज खोप किनेको हो । यसअघि चीनले नेपाललाई सुरुमा आठ र दोस्रोपटक दश लाख खोप अनुदानमा दिइसकेको छ । नेपालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ ।
प्रतिक्रिया