ताजा समाचार


हिन्दू धर्ममाथि विवादित टिप्पणी गरेको भन्दै जनकपुर र राजविराजमा भट्टराईको पुत्ला जलाइयो

द रियल समाचार     २०७८ श्रावण ७, बिहीबार, १८: २२ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हिन्दू धर्ममाथि विवादित टिप्पणी गरेको भन्दै प्रदेश २ को अधिकांश शहरमा विरोध प्रदर्शन सहित उनको पुत्ला समेत जलाइएको छ ।

जनकपुरधाम सहित प्रदेशको विभिन्न शहरमा युवाहरुले विरोध गर्दै बिहीबार भट्टराईको पुत्ला समेत जलाएका हुन् ।

जनकपुरधाममा हिन्दूवादी संगठन राष्ट्रिय एकता अभियान र सप्तरीको राजविराजमा विश्व हिन्दू परिषद् नेपालले अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरेका छन् । उनीहरुले भट्टराईले हिन्दू धर्ममाथि प्रहार गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय एकता अभियानका विनय यादवले हिन्दू धर्ममाथि प्रहार गर्दै सामाजिक सञ्जालमा गरेको टिप्पणी आपत्तिजनक रहेकोले आफूहरुले उनको पुत्ला दहन गरेको बताए । डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेको भन्दै जसपा निकट विद्यार्थी संगठन वीरगञ्जका ११ जनाले राजीनामा समेत दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जलमार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए । भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध विसर्जन गर्दै पुजापाठ गर्दै गर्दाको तस्विरप्रति टिप्पणी गर्दै समाजिक सञ्जालमा पोष्ट गरेपछि उनको आलोचना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top