ताजा समाचार


झलनाथको उपचार खर्च बारे गगनले सामाजिक सञ्जालबाटै प्रधानमन्त्रीलाई गराए सचेत

द रियल समाचार     २०७८ श्रावण ६, बुधबार, १४: ०५ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारले देशबाहिर गरिएको कुनै व्यक्तिको पनि उपचार खर्च बेहोर्न नहुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा नै ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने कुरा उल्लेख भएको भन्दै प्रधानमन्त्रीलाई स्मरण गराएका छन् ।

थापाले प्रधानमन्त्री देउवालाई उक्त प्रावधानको विषयमा जानकारी भएको भन्दै सञ्चारमाध्यममा आएमा समाचारहरु सत्य नहुने दाबी गरेका छन् । सरकारले देश बाहिर गरिएको कुनैपनि व्यक्तिको उपचार खर्च नबेहोर्ने उनको विश्वास छ । एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार भइरहेको र उनको स्वास्थ्य लाभका लागि सबैले कामना गरिरहेको भन्दै थापाले सरकारले खनालमाथि प्रश्न उठाउन मिल्ने गरी निर्णय नगर्ने बताए ।

संसद पुनःस्थापनाका लागि लडेर खनालले आफ्नो व्यक्तित्व अझ उँचो बनाएका बेला कानुनविपरीत काम गरेर उनको छवि गिराउन नुहने भन्दै त्यसमा प्रधानमन्त्री देउवा पक्कै पनि सचेत रहेको थापाले लेखेका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ’’प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन“ भन्ने व्यवस्था छ र उक्त कानुन २०७५÷६÷२ गतेदेखि लागू भइसकेको छ ।

यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।

जहाँसम्म पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ, हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ, यसले उहाँको कद अझ बढेको छ । झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौँ । मलाई विश्वास छ हाम्रो चाहना छिटै पूरा हुनेछ ।

उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ । उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै । यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

अतः कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top