ताजा समाचार


माधव नेपाल सरकारमा सहभागी हुने सम्भावना

द रियल समाचार     २०७८ श्रावण ५, मंगलवार, १४: २० मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सरकारमा सहभागी हुने सम्भावना बढेको छ ।

आज विहान कोटेश्वरमा आफ्नै निवासमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए । यो भेटमा प्रचण्ड र यादव दुवैले नेपाललाई सरकारमा सहभागी भएरै अगाडि बढ्न सुझाव दिएका थिए । तर, एमालेमा पछिल्लो समय चलिरहेको एकता प्रयासले कुन मोड लिन्छ भन्ने हेरेर मात्र आफू अगाडि बढ्ने नेपालले बताएका छन् ।

केही दिन यता नेपाल पक्षधर सांसदमा पनि मतभेद देखिन सुरु गरिसकेको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा यो गुटमा नेताहरुबीच भएको सामान्य मतभेद अब सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा पनि देखिन थालेको छ ।

यसअघि एमाले विवाद समाधान गर्न बनेको कार्यदलमा माधव नेपाल पक्षधरका सदस्यले यसअघि देउवालाई विश्वासको मत नदिन अनुरोध गरेका थिए । उनीहरुले प्रधानमन्त्री देउवाले विश्वासको मत मागेपछि संसद भवन छाडेर बाहिर निस्किएका थिए । तर, नेपालसहित उनी पक्षधर अरु केहीले देउवालाई विश्वासको मत दिएका थिए ।

विश्वासको मत दिएका सांसदहरुले अब पार्टी एक हुन नसक्ने अवस्थामा पुगिसकेको भन्दै नेपाललाई सरकारमा सहभागी हुन सुझाएका छन् । यही विषयमा आज विहान प्रचण्डसँग पनि नेपालको छलफल भएको स्रोतको दाबी छ ।

‘ओलीसँग लडेर बस्नुभन्दा अलग पार्टी बनाउने र सरकारमा सहभागी हुने मुडमा नेपाल हुनुहुन्छ,’ उनीनिकट एक नेताले भने, ‘अस्ति सांसदमा देउवालाई विश्वासको मत दिएका र ओलीनिकट भनेर चिनिएका सांसदहरुले पनि हामी सहयोग गर्छौँ, सरकारमा जानुहोस् भन्ने सन्देश नेपाललाई पठाउनु भएको छ । यस्तो भएको खण्डमा उहाँ सरकारमा जानुहुन्छ ।’

आजै नेपालले प्रचण्डसँगको छलफलपछि आफ्नो समूहको भेला बोलाएका छन् । अर्कोतिर आजै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । यो बैठकले नेपाललगायत देउवालाई विश्वासको मत दिएका नेताहरुलाई कारवाही गर्ने सम्भावना छ ।

नेपाल सरकारमा सहभागी भएको खण्डमा उनलाई ४ मन्त्रलाय दिन आफू तयार रहेको यसअघि नै देउवाले उनलाई बताइसकेका छन् । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएपछि भोलिपल्ट नेपाल भेट्न नेपालनिवास कोटेश्वर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन र सरकारमा आउन नेपाललाई अनुरोध गरेका थिए ।

सर्वोच्च अदालतले त्यसभन्दा अघिल्लो दिन संसद पुनस्र्थापना तथा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएलगत्तै कोटेश्वरमा नै पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । त्यो बैठकमा आफू अब गठबन्धनमा नरहने नेपालले बताएका थिए । तर, बालुवाटारबाट बालकोट पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा नेपाललाई कुनै ठाउँ नभएको र उनी गद्दार भएको अभिव्यक्ति दिएका थिए ।

त्यसपछि एमालेमा ओली र नेपालबीचको दूरी थप बढेको छ । नेपालले देउवालाई विश्वासको मत दिएपछि ओलीले फेरि नेपालले गद्दारी गरेको दोहोर्याएका छन् । एमालेमा देखिएका यी घटनाक्रमका कारण अब आफू फेरि ओलीसँग मिल्न नजाने अनुमान नेपालले गरिसकेका छन् । ‘त्यही भएर पनि उहाँले सरकारमा सहभागी हुने मुड बनाउनु भएको हुनसक्छ,’ उनीनिकट एक नेताले भने, ‘यसबारे आजको छलफलपछि थप कुराहरु आउला ।’
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top