ताजा समाचार


धनुषामा जग्गाको विषयमा दुईपक्षबिच झडप, दुईजना घाइते

द रियल समाचार     २०७८ श्रावण ४, सोमबार, १६: ३० मा प्रकाशित




जनकपुरधाम । धनुषाको बटेश्वरमा जग्गाको बिषयलाई लिएर दुई पक्षबिच झडप हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेहरुमा वडा नम्बर–३ बस्ने श्यामसुन्दर दास र रामनारायण दास रहेको बटेश्वर प्रहरी चौकीले जनाएको छ ।

स्थानीय रासलाल दासले २०३० सालमा सहदेव महतोलाई आफ्नो नाममा रहेको १३ धुर जग्गा बिक्री गरेका थिए । पछि गाउँपालिकाले नाप नक्सा गर्दा १९ धुर जग्गाको नक्सा कटाएको पाइएपछि रासलाल र सहदेवको परिवारबिच विगतदेखि विवाद हुँदै आईरहेको थियो ।

सोमबार दूबै पक्षबिच विवाद भएपछि सहदेव महतोका परिवारजनमध्येका रामकमल महतो, सुरेन्द्र महतो र दिलीप महतो कुटपिट गर्दा रासलाल दासका छोराहरु श्यामसुन्दर दास र रामनारायण दास घाइते भएको बटेश्वर प्रहरी चौकीले जनाएको छ । श्यामसुन्दरको टाउकोमा चोट लागेको छ भने रामनारायणको कन्चटमा चोट लागेको हो ।

यद्यपि रासलालका परिवारले झडपमा ५ जना घाइते भएको दावी गरेका छन् । उनीहरुका अनुसार ढुंगा तथा लठीले प्रहार गरेपछि विजय दास, निभादेवी र रासलाल दास समेत घाइते भएका छन् । घाइतेहरुको उपचार प्रादेशिक अस्पतालमा भईरहेको आफन्त विजय दासले जानकारी दिए ।

यता घाइते श्यामसुन्दर दासले जिल्ला प्रहरी कार्यालय धनुषामा बटेश्वर गाउँपालिका सहित ४० वर्षीय रामकमल महतो, ३२ वर्षीय सुरेन्द्र महतो र २७ वर्षीय दिलीप महतोबिरुद्ध जाहेरी दर्ता गराएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामकमल र सुरेन्द्रलाई पक्राउ समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top