एजेन्सी । पाकिस्तानविरुद्ध ३ खेलको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ । उसले आइतबार भएको खेलमा ४५ रनको जित हात पारेको हो ।
इंग्ल्यान्डको यो जितसँगै सिरिज रोमाञ्चक मोडमा पुगेको छ । अब विजेताको टुङ्गो तेस्रो तथा अन्तिम खेलबाट लाग्ने छ । इंग्ल्यान्डले दिएको २०१ रनको बलियो लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३७ रन जोडे । शादव खानले अविजित ३६ रनको योगदान दिँदा कप्तान बाबर आजमले २२ रन बनाए । इंग्ल्यान्डका साकिब महम्मदले ३, मोइन अली र आदिल रशिदले समान २–२ विकेट लिँदा टम करन र म्याथ्यु पार्किनसनले १–१ विकेट हात पारे ।
यसअघि लिड्समा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०० रनको बलियो योगफल तयार पारेको थियो । उसका लागि कप्तान जोस बट्लरले अर्धशतकिय पारी खेले । ३९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का सहित ५९ रन प्रहार गरे ।
लिम लिभिङ्गस्टोनले ३८ र मोइन अलीले ३६ रनको योगदान दिए । पाकिस्तानका मोहम्मद हसनैनले ३, हारिस रउफ र इमाद वासिमले समान २–२ लिँदा शहिन अफ्रिदी र शादब खानले १–१ विकेट हात पारे । १ विकेट रन आउटका रुपमा प्राप्त भयो । इंग्ल्यान्डको जितसँगै सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाकिस्तान ३१ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल जुलाइ २० मा हुनेछ ।
प्रतिक्रिया