काठमाण्डौ । टोकियो ओलम्पिक जाने तयारीमा रहेकी एथलेटिक्स प्रशिक्षक इन्द्र कुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । जापान जानुअघि गरिएको कोरोना परीक्षणमा मल्लको रिपोर्ट पोजेटिभ आएको नेपाल ओलम्पिक कमिटीले पुष्टि गरेको हो ।
नेपाल ओलम्पिक कमिटीले आइतबार एक विज्ञप्ति निकाल्दै मल्ललाई कोरोना पुष्टि भएपछि टोकियो ओलम्पिक आयोजक कमिटीको कोभिड नियमअनुसार उनलाई सहभागी गराउन नमिल्ने जनाएको छ । कमिटीका अनुसार अब मल्लको स्थानमा यसअघि नै सूचीमा रहेका प्रशिक्षक सन्तोष श्रेष्ठलाई टोकियो पठाइने जानकारी गराएको छ ।
यही जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा आयोजना हुने ओलम्पिकमा नेपालको तर्फबाट पौडीका गौरिका सिंह र एलेक्स शाह, जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना चौधरी र एथलेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउँदै छन् ।
चार खेलाडी यसअघि नै टोकियो पुगिसकेको भए पनि एथलेटिक्स टोली जुलाई २५ मा टोकियो प्रस्थान गर्ने तालिका रहेको छ ।
प्रतिक्रिया