ताजा समाचार


प्रदेश २ : साह र कर्णले लिए पद तथा गोपनीयताको सपथ, मातृभाषामा सपथ सम्बन्धि अध्यादेश ल्याउने प्रतिबद्धता

द रियल समाचार     २०७८ श्रावण २, शनिबार, १७: २४ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रका दुई जना सांसदले मन्त्री पदको सपथ लिएका छन् ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पार्टीको निर्देशनानुसार राजीनामा दिएपछि मुख्यमन्त्री लालबाबु राउतले प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका दुईजना सांसदलाई मन्त्री बनाएका हुन् ।

मन्त्री बनेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेश प्रमुख डा. राजेश अहिराजबाट शनिबार पद तथा गोपनीयताको सपथ लिएका छन् भने राज्यमन्त्री रुवी कुमारी कर्णले मुख्यमन्त्री लालबाबु राउतसँग सपथ लिएकी छन् । साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णलाइ आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

सपथको क्रममा नवनियुक्त दुबै मन्त्रीले ईश्वर शब्द छुटाएका थिए । मन्त्री साहले ईश्वरको साटो कुनै शब्द उच्चारण गरेका थिएनन् भने राज्यमन्त्री कर्णले ईश्वरको साटो सहिदको नाममा सपथ लिइन । यसअघि माओवादीका दुईजनालाई मन्त्री बनाउने तयारी भएपनि मुख्यमन्त्री लालबाबु राउतले अन्तिममा एउटा मात्रै मन्त्रालय दिने अडान लिएपछि कांग्रेस मात्रै सत्तामा गएको थियो ।

राउतले आफ्नै पार्टी भित्रको महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाएर गत जेठ २६ गते नेपाली काँग्रेसलाई समेत सरकारमा सहभागी गराईसकेका छन् ।

मातृभाषामा सपथ सम्बन्धि अध्यादेश ल्याउने मन्त्री साहको प्रतिबद्धता

नवनियुक्त मन्त्रीद्वयको सपथ ग्रहणको समय अपरान्ह ३ बजेका लागि निर्धारण गरिएपनि सपथ ग्रहण समारोह डेढ घण्टा अबेर सुरु भएको थियो । नवनियुक्त मन्त्री साहले सपथको भाषाको विषयमा कुरा नमिलेकाले सपथ ग्रहण समारोह ढिलो गरि सुरु भएको थियो ।

मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका थिए । तर कानून अभावका कारण आफूहरुलाई राष्ट्रिय भाषामा सपथ लिनु परेको मन्त्री साहले बताए ।

सपथ ग्रहण लगत्तै उनले मातृभाषामा सपथ सम्बन्धि अध्यादेश ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्रीद्वयले प्रदेश प्रमुख डाक्टर रोजेश झा अहिराजलाई मैथिली भाषामा प्रतिकात्मक सपथको पत्र समेत बुझाएका थिए ।

नवनियुक्त मन्त्री साह महोत्तरी क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top