काठमाण्डौ । नेपाली कांग्रेसको बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ वैशाखदेखि यताका बाढी पहिरो पीडितको परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ दिने भएको छ ।
बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका छन् ।
बाढी पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी पहिरो पीडित विपद् व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो ।
बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधैँ आइरहने भएकाले नियमित तालिका जस्तै गरी व्यहोर्नुपरेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको बस्नेतले बताए । उनले समितिले २०७८ साल यता बाढी पहिरोमा मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने बताए ।
बस्नेतले मुलुकभरबाट बाढी तथा पहिरोले पुर्याएको भौतिक र मानवीय क्षतिबारे तथ्यांक संकलन गरी राहत उपलब्ध गराइने जानकारी दिए । उनले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताए ।
–फरकधार
प्रतिक्रिया