ताजा समाचार


विप्लव समूहका नेता वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १८: ०३ मा प्रकाशित




काठमाण्डौ । सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

विप्वल समूहले एनसेल मुख्यालयमा बम विस्फोट गराएको घटनाको वलीले बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिँदै आफूहरुले विस्फोट गराएको भनी जिम्मा लिएका थिए ।

जिल्ला अदालतको उक्त आदेश वेरीतको रहेको भनी वलीले २०७६ जेठ १६ गते नै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उच्च अदालतले वलीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश मिलेकै देखिएको भनी सदर गरेको थियो ।

त्यसविरुद्ध वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । वली हाल मुटुको उपचारका लागि शहीद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रम उपचाररत छन् । सर्वोच्च अदालतले जीवन रक्षार्थ मानवीय दृष्टिकोणबाट संवेदनशील भई अस्पताल भर्ना भएको अवस्थामा थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले बेमनासिव देखिएको ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top