ताजा समाचार


होर्डिङ्ग बोर्ड र ब्यानर झुण्ड्याउन लाखौँ बजेट

द रियल समाचार     २०७८ असार ३०, बुधबार, १८: ०५ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत फागुन ३ गते प्रदेश सरकारले ३ बर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भ्रष्टाचारप्रति शून्य सहनशीलताको वाचा गरेका थिए ।

उनले भनेका थिए,‘प्रदेश २ सरकार पूर्णरुपमा सफल छ । संघीय सरकारको असहयोगका बाबजुद आफ्नो कार्यकाल सफल रुपमा बितिरहेको छ ।’ संघीयतालाई असफल पार्ने तत्वहरू सक्रिय रहेको समयमा प्रदेश सरकार संघीयतालाई संस्थागत गर्न अगाडि बढिरहेकाले आफ्नो नेतृत्वको सरकार सफल रहेको उनले बताएका थिए ।

उनले आफू नेतृत्वको सरकार भ्रष्टाचार तथा फिजुल खर्चमा कदापी नलाग्ने दावी समेत गरेका थिए । तर, उनको त्यो बोली व्यवहारमा भने पटक्कै देखिएन । प्रदेश २ सरकारले सामान्य होर्डिङ्ग बोर्डकै नाममा लाखौं रकम खर्च गरिरहेको छ भने अन्य ठूला काममा कति रकम अनियमित रुपमा खर्च गरिरहेको होला, सहजै अनुमान लगाउन सकिन्छ ।

अहिले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आ–आफ्नो चित्र अंकित ठूल ठूला होर्डिङ्ग बोर्डहरु प्रदेशका विभिन्न ठाउँहरुमा लगाएको देखिएको छ । होर्डिङ्ग बोर्डहरुमा प्रदेश सरकारका केही महत्वकांक्षी योजनाहरुको स्लोगन लेखिएका छन् भने स्लोगनको छेउमै मुख्यमन्त्री तथा मन्त्रीहरुको ठूलो तस्वीर अंकित छन् ।

महत्वकांक्षी योजनाहरुको प्रचार प्रसारको नाममा मात्र वर्षेणी लाखौँको बजेट छुट्याउँदै आईरहेको पाइएको छ । प्रचार प्रसारको नाममा खर्च गर्नमा मुख्यमन्त्री कार्यालय अब्बल नम्बरमा छ । मुख्यमन्त्री कार्यालयले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि छुट्याएको बजेटमा ३१ लाख रुपैैयाँ मात्रै प्रचार प्रसारका लागि छुट्याइएको छ । जबकि चालु आर्थिक वर्षमा मुख्यमन्त्री कार्यालयले प्रचार प्रसारका लागि ८० लाख रुपैयाँ छुट्याएको थियो । जुन शिर्षकमा प्रचार प्रसारका लागि बजेट छुट्याइएको थियो सोही शिर्षकमा फेरी पनि लाखौँ रुपैयाँ छुट्याइएको छ ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान सम्बन्धि होर्डिङ्ग बोर्ड तथा ब्यानरका लागि आगामी आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट छुट्याइएको छ । जबकि चालु आर्थिक वर्षमा यही अभियानको होर्डिङ्ग बोर्डका लागि ५० लाख रुपैयाँ छुट्याइएको थियो । त्यस्तै सोही अभियानको प्रचार प्रसारका लागि टिसर्ट र ब्याच खरिद गर्न आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । चालु आर्थिक वर्षमा यसका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो ।

त्यस्तै, प्रदेश सरकारको अर्को महत्वकांक्षी योजना मुख्यमन्त्री स्वच्छता अभियान सम्बन्धि होर्डिङ्ग बोर्ड राख्नका लागि आगामी आर्थिक वर्षमा १० लाख रुपैयाँको बजेट छुट्याइएको छ । यसका लागि चालु आर्थिक वर्षमा भने २० लाख रुपैयाँ छुट्याइएको थियो ।

युवा अभियन्ता सुशील कर्णले भने,‘प्रदेश सरकार होर्डिङ्ग बोर्ड तथा ब्यानरमै सीमित रहेको छ । उल्लेखनीय काम भने केही गर्न सकेको छैन् ।’ नयाँ योजनाभन्दा पनि पूरानै योजनाहरुको प्रचार प्रसारका लागि वर्षेणी लाखौँको बजेट छुट्याइदा प्रचार प्रसारको नाममा समेत भ्रष्टाचार भइरहेको उनको आरोप छ । सरकारले बाचा अनुसारका महत्वपूर्ण काम कुनै पनि पूरा गर्न नसकेको उनले बताए ।

‘संघ सरकारले संघीयता असफल पार्न कर्मचारी लगायतका असहयोग गरी काम गर्न दिएन सार्वजनिक कार्यक्रमहरुमै प्रदेश सरकारका मन्त्रीहरुले गाली गलौज गरेका छन’, उनले भने, ‘तर आफूले जनतासँग गरेको बाचा र प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेका योजना भने पूरा गर्न सकेको छैन ।’

राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका माध्यमबाट प्रदेशका जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए पनि व्यवहारमा भने उल्टो देखिएको युवा नेता सरोज मिश्रको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top