ताजा समाचार


प्रधानमन्त्री देउवाको सुरक्षा बढाइयो, ओलीको घटाइयो

द रियल समाचार     २०७८ असार ३०, बुधबार, १६: १९ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षा बढाइएको छ भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएको टोलीको संख्या उनी पदमुक्त भएसँगै घटाइएको छ ।

गृह मन्त्रालयका एक अधिकृतका अनुसार देउवाले अतिविशिष्ट श्रेणीको सुरक्षा पाउनेछन्, जसको नेतृत्व नेपाली सेनाले गर्नेछ । स्रोतका अनुसार देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरी बलको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना खटिनेछन् ।

पूर्वप्रधानमन्त्री ओलीको सुरक्षाबाट पूर्वडीएसपी राजन लिम्बुसहितको टोली मंगलबार नै फर्किएको छ । हाल प्रहरी निरीक्षक माधव केसी नेतृत्वको टोली ओलीसँग छ । कानूनतः ओलीले १५ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका कर्मचारीलाई सुरक्षार्थ राख्न पाउँछन् । तर ओलीको सचिवालयले थप १५ जना प्रहरीका सुरक्षाकर्मी माग गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

यसैबीच, पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षार्थ खटिएको टोलीको संख्या पनि बढाइएको छ । माधव नेपाल समूहको सहयोगमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै नेता नेपालमाथि सुरक्षा खतरा बढेको आँकलनसहित सुरक्षा बढाइएको छ । देउवा प्रधानमन्त्री भएसँगै नेपाललाई एमाले कार्यकर्ताबाट थ्रेट बढेको सुरक्षा विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top