ताजा समाचार


४२ करोडमा बनेको जनकपुर विमानस्थलको कन्ट्रोल टावर सात महिनामै क्षतिग्रस्त

द रियल समाचार     २०७८ असार ३०, बुधबार, ११: ४७ मा प्रकाशित




जनकपुरधाम । ४२ करोडको लागतमा निर्माण गरिएको जनकपुरधाम विमानस्थलको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त बनेको छ ।

४ हजार १३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ । यो बिलकुलै नयाँ प्रविधि हो । जुन नेपालका अन्य विमानस्थलहरूमा प्रयोग गरिएको छैन । तर, निर्माण सम्पन्न भएको केही दिनमै कन्ट्रोल टावर क्षतिग्रस्त हुँदा यसको गुणस्तरीयतामाथि प्रश्न उठेको हो ।

यस सम्बन्धमा विमानस्थलका प्रमुख किरण गौतमले हावाहुरीका कारण कन्ट्रोल टावरको सिमेन्ट ब्लक उप्केको हुनसक्ने भन्दै यसको पुनःनिर्माण ठेकेदार कम्पनीले नै गर्ने जानकारी दिए । उनले एक वर्षसम्म मरम्मत सम्भारको काम ठेकेदार कम्पनीले गर्नुपर्ने सम्झौता भएको बताए ।

६ कठ्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र ६० फिट बराबरको ६ तल्ले कन्ट्रोल टावर निर्माण गरिएपनि टावरको माथिल्लो भाग केही दिनमै क्षतिग्रस्त बनेको छ । २०६९ साल कातिक महिनामा १८ करोडको लागतमा नयाँ टर्मिनल भवन निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले शिलान्यास गरेका थिए ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ गते सम्झौता भएको थियो । प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माणको समय पटक–पटक थप्दै ८ वर्ष पु¥याइएको थियो ।

नागरिक उड्ययन प्राधिकरणले २०६९ सालमा पप्पु कन्स्ट्रक्सनसँग डेढ वर्ष भित्रै निर्माण सम्पन्न हुने गरी सम्झौता गरेको थियो । १८ करोडको लागतमा निर्माण गर्ने सम्झौता गरिए पनि विभिन्न बहाना देखाउँदै पटक–पटक गरेर म्याद थप गरे पनि निर्माण सम्पन्न हुन सकेन ।प्राधिकरणका आयोजना प्रमुख नलविक्रम थापाले पप्पु कन्सट्रक्सनसँग दक्ष जनशक्ति नरहेका कारण निर्माण कार्यमा ढिला सुस्ती भएको बताए । अन्ततः २०७४ सालमा पप्पुसँगको सम्झौता रद्द गरियो । यद्यपि आधा काम पप्पुले नै गरेका कारण २१ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिएको थियो ।

त्यसपछि बाँकी काम र फिनिसिङ्ग गर्नका लागि २१ करोड २७ लाख ७ हजार ७३० रुपैयाँको लागतमा थेगिम गाल्वा उमा एण्ड कम्पनी जेभीसँग सम्झौता गरियो । पप्पुको सम्झौता रद्द गरेर नयाँ निर्माण कम्पनीसँग सम्झौता गरिएपछि १ वर्षमा काम सम्पन्न गर्नुपर्नेमा नयाँ कम्पनीले पनि काम गर्न सकेन । र पछि १७ महिनाको थप म्याद उसले पाएको थियो ।

जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवनको तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०७७ मंसिर २३ गते उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top