ताजा समाचार


दक्षिण अफ्रिकाविरुद्धको दोस्रो खेलमा घरेलु टोली आयरल्याण्ड विजयी

द रियल समाचार     २०७८ असार ३०, बुधबार, १०: २९ मा प्रकाशित




एजेन्सी । दक्षिण अफ्रिकाविरुद्ध ३ खेलको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली आयरल्याण्ड विजयी भएको छ । उसले मंगलबार भएको खेलमा ४३ रनको जित हात पारेको हो ।

आयरल्यान्डले दिएको २९१ रनको बलियो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै २४७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि जानेमान मलानले ८४ रनको उत्कृष्ट पारी खेल पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । उनले ९६ बलको सामना गर्दै ७ चौका र ४ छक्का प्रहार गरे ।

रस्सी भान डेर डुसेनले ४९ र डेविड मिलरले २३ रनको योगदान दिए । आयरल्यान्डका एन्डी म्याकब्रिनी, मार्क आदिर र जोसुवा लिटिलले समान २–२ विकेट हात पार्दा क्रेग योङ्ग, सामी सिंह, जर्ज डोकरेलले १–१ विकट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । यसअघि डुब्लिनमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९० रनको बलियो योगफल तयार पारेको थियो । उसका लागि कप्तान एन्ड्रयु बलबर्नीले शतकीय पारी खेले । ११७ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे ।

ह्यारी टेक्टरले ६८ बलमा ६ चौका र ४ छक्काको मद्दतले ७९ रनको योगदान दिँदा जर्ज डोकरेलले ४५ रन जोडे । दक्षिण अफ्रिकाका एन्डिले फेहलुक्वयोले २, कागिसो राबडा, तावरेज शाम्सी र केशब महाराजले समान १–१ विकेट लिए । दक्षिण अफ्रिका विरुद्ध कुनै पनि प्रारूपको क्रिकेटमा पहिलो जित निकालेको आयरल्यान्ड सिरिजमा १–०को अग्रता लिएको छ । पहिलो खेल वर्षाले रद्द भएको सिरिजको तेस्रो तथा अन्तिम खेल १६ जुलाईमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top