ताजा समाचार


बजेट मन्त्रीमुखि भएको भन्दै एमाले र माओवादीका सांसदद्वारा प्रदेशसभा बैठक अवरुद्ध

द रियल समाचार     २०७८ असार २७, आईतवार, १८: २७ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ को आइतबारको प्रदेशसभा बैठक नेकपा एमाले र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले अवरुद्ध गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रीमुखि भएको भन्दै एमाले र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध पारेका हुन् ।बैठक सुरु भएलगत्तै नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले प्रदेश सरकारको बजेट विगतका जिल्ला विकास समितिको जस्तो पनि नभएको टिप्पणी गरे ।

आज बसेको छैठौं अधिवेशनको १३ औं बैठकमा बेल्दै उनले यो बजेट प्रदेश सरकारको नभई कुनै एउटा नगरपालिका वा निर्वाचन क्षेत्रको बजेट जस्तो लाग्ने गरेको टिप्पणी गरे । उनले भने, ‘किताब मोटो भएर हुँदैन तर यो बजेट एउटा निर्वाचन क्षेत्र, एउटा नगरपालिकाको बजेटको रुपमा हामीले देखिरहेका छौं । यो अत्यन्त पक्षपातपूर्ण छ । यो बजेटले सबै जनताको अधिकारमाथि कुठाराघात गरिरहेको छ ।’

यस्तो किसिमको बजेटलाई अगाडि बढाउँदा प्रदेशको समृद्धि हुन नसक्ने दावी गर्दै उनले भने, ‘यो रेडबुक हैन यो ब्ल्याकबुक हो । त्यसैले हामी यो ब्ल्याकबुकलाई मान्दैनौं । र जबसम्म यसमा सुधार हुँदैन तबसम्म हामी सदनलाई अगाडि बढ्न दिदैनौं ।’

यस्तै नेकपा माओवादी केन्द्रका साँसद दिलिप साहले पनि यस बजेटले प्रदेशका समग्र जनतालाई समृद्ध बनाउन नसक्ने दावी गरे । उनले भने,‘ प्रदेश सरकारको यस रेडबुकलाई रेडबुक नभई कालोबुक भन्दा हुन्छ । बदनामीको भार बोक्नलाई हामी साक्षी बस्न सक्दैनौं ।’

उनले प्रश्न गर्दै भने,‘ अर्थमन्त्रीले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गर्ने ? यति ठुलो षडयन्त्र गर्ने ? मन्त्रीले आफ्नो क्षेत्रमा मनपरी बजेट राख्न पाउँछ र ? कसले अधिकार दियो ? सरकार भन्दैमा जे पनि गर्न पाईने ? छुट छ त्यस्तो ? यो सदनले मलाई लाग्छ त्यस्तो छुट कसैलाई दिएको छैन् ।’

प्रदेशसभा सदस्य साहले बजेटलाई समानूपातिक तथा संतुलित ढंगले विनियोजन गर्न माग गरे । उनले प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा समानूपातिक ढंगले योजना पठाउन समेत प्रदेश सरकारसँग माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top